सन्दीपलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

१ बर्ष अघि

२0७९ आश्विन २४ सोमबार

सन्दीपलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डौ – जिल्ला अदालत काठमाण्डौले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो ।

गएको भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गएको बिहीवार प्रहरीले पक्राउ गरी सोमवार अदालतमा उपस्थित गराएको थियो ।

दशैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।

सोमवार जिल्ला अदालत काठमाण्डौले असोज २० गतेदेखि लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सन्दीप लामिछानेले इजलासमा आफू निर्दोष रहेको कुरा श्रीमान समक्ष सम्पूर्ण डिटेलहरु प्रस्तुत गर्नुभयो । म्याद थपको सम्बन्धमा श्रीमानले ७ दिनको समय दिनुभयो । यो २० गतेदेखि लागू हुने गरेर दिएको समय हो । २७ गते अदालतमा फेरि हाजिर हुने सर्तमा ७ दिनको लागि म्याद थपिएको छ ।’

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई दशैँको भोलिपल्ट नेपाल आए लगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।

काठमाण्डौको गौशालामा रहेको एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गएकोे प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।