सुदूरपश्चिममा कांग्रेसले पायो ९ सिट, को हुन् सम्भावित उम्मेदवार

१ बर्ष अघि

२0७९ आश्विन १५ शनिबार

सुदूरपश्चिममा कांग्रेसले पायो ९ सिट, को हुन् सम्भावित उम्मेदवार

महेन्द्रनगर । सत्तारुढ पाँच दलीय गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेसले ९ सिट पाउने सहमति भएको छ । ती सिटमा उम्मेदवार को हुने भन्ने चर्चा पनि सुरु भएको छ । कांग्रेसले पाएको डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा एकल सिफारिस भएका हुनाले उनी नै उम्मेदवार हुने निश्चित छ भने बाजुरामा उम्मेदवार बन्न कांग्रेसका ७ जना सिफारिस भएका छन् जसमा पूर्व जिल्ला सभापति कविराज पण्डित एक नम्बरमा छन् । यहाँ सहमहामन्त्री बद्री पाण्डे पनि दाबेदार छन् ।

कांग्रेसले पाएको अछाम–२ मा चार जना नेताले उम्मेदवारीका लागि आकांक्षा देखाएका छन् । जिल्ला सभापति पुष्प शाह, नेता बलहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाहीमध्ये बाटै अछाम–२ मा गठबन्धनको साझा उम्मेदवार तय हुने छ । त्यसै गरी दार्चुलामा चार जनाको नाम सिफारिस हुँदा उद्योगमन्त्री दिलेन्द्र बडूको नाम एक नम्बर सिफारिस भएर आएको छ । उनीबाहेक विक्रमसिंह धामी, जगदिशबहादुर पाल र गौरीशंकर गिरीको नाम पनि सिफारिस भएको छ । गठबन्धनको साझा उम्मेदवार भने मन्त्री बडू नै बन्ने बुझिएको छ ।

कञ्चनपुर–२ मा नेता एनपी साउद उम्मेदवार हुने पक्काजस्तै छ । हरिप्रसाद बोहरा र प्रेमबहादुर बलायरको नाम पनि सिफारिस भएको छ । यस्तै कञ्चनपुर–३ मा नेता प्रेमबहादुर विष्टको नाम सिफारिस भए पनि नेता रमेश लेखकको उम्मेदवारी निश्चित जस्तै छ ।