सुदूरपश्चिमका ११ सय ६१ मतदानस्थललाई सुरक्षा जोखिम अनुसार वर्गीकरण

१ बर्ष अघि

२0७९ आश्विन १५ शनिबार

सुदूरपश्चिमका ११ सय ६१ मतदानस्थललाई सुरक्षा जोखिम अनुसार वर्गीकरण

धनगडी । संघ र प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिममा एक हजार एकसय ६१ मतदानस्थल र २ हजार एक सय ४६ वटा मतदान केन्द्र कायम गरिएको छ। सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरि ३ भागमा वर्गाीकरण गरेर संवेदनशीलताको सूची बनाइएको छ। 


आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मतदान केन्द्र र मतदानस्थलको संख्या कायम गरी निर्वाचनका लागि आवश्यक तयारी अघि बढाइएको छ। निर्वाचनका लागि आवश्यक सबै तयारी थालिएको सुदूरपश्चिम प्रदेशका निर्वाचन अधिकारी प्रेमदत्त भट्टले बताए। ‘प्रदेशभित्र मतदानस्थल मतदान केन्द्र कायमदेखि व्यवस्थापनसम्मका काम गरिसकिएको छ। मतदाता संख्याको आधारमा मतदान केन्द्र कायम गरिएको छ’ उनले भने। 


प्रतिनिधि र प्रदेशको निर्वाचनमा मतदानका लागि सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन्। प्रदेश निर्वाचन क्षेत्र ३२ तथा प्रतिनिधि निर्वाचन क्षेत्र १६ रहेको सुदूरपश्चिममा पुरुषको भन्दा महिला मतदाताको संख्या बढी देखिएको छ। मतदानस्थलभित्र एकभन्दा धेरै मतदान केन्द्र भएमा दुई प्रहरी र तीन म्यादीको दरले सुरक्षाकर्मी थप्ने गृह मन्त्रालयको सुरक्षा योजना छ। 


कञ्चनपुरमा सुरक्षा संवेदनशीलतालाई हेरेर १३२ वटा मतदानस्थललाई तीन चरणमा विभाजन गरेर वर्गाीकरण गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। ‘सुरक्षा संवेदनशीलताको आधारमा मतदानस्थलको वर्गीकरण गरिएको छ। तर मतदानस्थलको वर्गीकृत संख्या भन्न सुरक्षाको दृष्टिकोणले खुलाउन उपयुक्त हुँदैन’ उनले भने। 


यताका १३ वटै पालिकामा गरी ६२९ वटा मतदात केन्द्र तोकिएको छ। जिल्लाभित्र रहेका कूल २ सय ३७ मतदानस्थलमध्ये अति संवेदनशील ५२, संवेदनशील १३२ तथा सामान्य ५३ गरी मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ। 


संवेदनशील मतदानस्थलमा न्यूनतम तीन प्रहरी र ६ म्यादी तथा सामान्य मतदानस्थलमा तीन प्रहरी र पाँच म्यादी प्रहरी खटिनेछन्। अति संवेदनशील र संवेदनशीलमा जुनियर प्रहरी अधिकृत वरिष्ठ सइ, सइ र असइको नेतृत्वमा सुरक्षाकर्मी खटाइने सुरक्षा योजना बनेको छ। 

मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा योजना निर्माण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। ‘स्थानीय तहको निर्वाचनमा गरिएको सुरक्षा व्यवस्थाअनुसार नै आगामी प्रतिनिधि र प्रदेश निर्वाचनका लागि सुरक्षा योजना निर्माण गरिएको छ’ उनले भने। 

कैलालीमा २ लाख ६१ हजार ६२० पुरुष र २ लाख ७३ हजार ८८३ गरी ५ लाख ३५ हजार ५१४ मतदाता छन्।  कर्मचारी, सुरक्षाकर्मी तथा कैदीबन्दीले यसपटक समानुपातिकतर्फ मतदान गर्न पाउनेछन्। समानुपातिक मतदान मात्र हुने ठाउँमा अस्थायी मतदानस्थल बनाउने तयारी आयोगको छ।