दशैंमा सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

१ बर्ष अघि

२0७९ आश्विन १५ शनिबार

दशैंमा सुदूरपश्चिममा भारी बर्षाको सम्भावना

दार्चुला । दशैँको मुख्य दिनमा सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दशैँको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिमका केही ठाउँमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ । 

आउँदो बुधबार विजयादशमीदेखि शुक्रबार द्वादशीसम्म सुदूरपश्चिमका साथै लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँहरुमा भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आउँदो मङ्गलवार महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बुधवार विजयादशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महशाखाकाअनुसार बिहीवार एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिमका थोरै ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रवार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

यी दिनहरूमा पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

नेपालमा मनसुन सरदर अक्टोबर २ अर्थात भोलिदेखि बाहिरिने भएता पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने मौसमविद्ले यसअघि नै भनिसकेका छन् ।