दार्चुलाको खलंगा र गोकुलेश्वरमा हेल्पडेस्क, २ सय ४४ प्रहरी परिचालन

१ बर्ष अघि

२0७९ आश्विन १५ शनिबार

दार्चुलाको खलंगा र गोकुलेश्वरमा हेल्पडेस्क, २ सय ४४ प्रहरी परिचालन

दार्चुला । दार्चुलामा पनि दशैं विशेष सुरक्षा योजना लागु भएको छ । सुरक्षा योजना अन्तरगत यसपालि ट्राफिक नियम उल्लङघन, जुवातास र मापसेमा निगरानी गरिने प्रहरीले जनाएको छ । दार्चुला सदरमुकाम खलंगा दुई ठाउँ र गोकुलेश्वरमा एक गरी तीन वटा हेल्प डेस्क सञ्चालनमा आइसकेको र आवश्यकताका आधारमा हेल्प डेस्कको संख्या बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एबं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर जिल्लाभरीमा २ सय ४४ प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो । यसपालि दशैं तिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवक रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ । साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाइएको बताइएको छ । आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना संकलनमा सादा पोशाकमा प्रशस्त प्रहरी खटाउने र त्यस्ता भीडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।


चाडपर्व नजिकिँदै गर्दा सदरमुकाम क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या गाउँघरमा जान्छ । विशेष सुरक्षा योजनाअन्तर्गत यात्रु ठगिनबाट जोगाउन विभिन्न ठाउँमा ट्राफिक र जनपदसहित हेल्प डेस्क राख्ने गरिएको छ । जसले यात्रुलाई सचेत गराउँछ । साथै टिकट बुकिङ हुने ठाउँमा हुनसक्ने अनियमितता रोक्न सादा पोशाकको प्रहरी परिचालन र लाइन व्यवस्थित गर्न बर्दिधारी प्रहरी पनि खटाइएको छ । ठाउँ ठाउँ छड्के जाँचको व्यवस्था गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दशैँ मनाउन घर फर्कनेहरुको भिड हिजो देखि झन् बढेको छ । सरकारी कार्यालय र स्कुल क्याम्पस हिजोदेखि बन्द भएपछि घर फर्कनेको चहलपहल बढेको हो । केही स्कुल घटस्थापनादेखि बिदा भए पनि धेरै स्कुल, क्याम्पस र कार्यालय भने हिजो शुक्रवारसम्म सञ्चालन भएका थिए ।  गाडीमा झन् धेरै भिड हुने भएकाले सुरक्षित यात्राको लागि ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले छतमा नचढ्न, गाडीमा नझुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ । यस्तै गाडीको चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेटमार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने गाडीलाई कारबाही गर्न सादा पोसाकमा पनि प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोकिएकोभन्दा बढी भाडा नलिन र ट्राफिक नियमको पालना गर्न प्रहरीले यातायात व्यवसायीसँग आग्रह गरेको छ ।

मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोसाकका प्रहरीको परिचालन, सीआरभी, सीसीटीभी निगरानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाइन्ट ड्यूटी, मापसे चेकिङमा प्रहरी खटाइने छ।