काठमाडौ । वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए ।
०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा आएका उनले यस्तो बताएका हुन् । । ‘म प्रधानमन्त्री भएँ भने
भारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल–भारत सीमामा पर्खाल लगाउने हुने छ,’ उनले भने, ‘प्रधानमन्त्री हुन्छु वा हुदिनँ तर मेरो प्रस्ताव सीमामा पर्खाल र भिसा
लागू गर्नुपर्छ ।’ पर्खाल लगाउँदा आधा–आधा खर्च नेपाल र भारतको हुनुपर्ने गौतमले बताए । जहिले मन लाग्यो आउने र जाने अनि झगडाको बीउ रोप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिए ।
अर्को एक जिज्ञासामा उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कहीँबाट पनि नलड्ने बताएका छन् । चुनावमा आफू कहिल्यै पनि बर्दियाबाट नउठ्ने उनको भनाइ छ । म राष्ट्रिय सभा सदस्य छु । मलाई चुनाव लड्ने आवश्यकता छैन,’ गौतमले भने, ‘म बाजुन्जेल राजनीति गर्छु ।’
०६३ सालको नागरिकता विधेयक घातक भएको र अहिले ल्याइएको विधेयक राष्ट्रघाती नभए पनि त्रुटिपूर्ण भएको उनले बताए । ‘विदेशबाट आएकाले त्यही देशको
नागरिकता त्याग गरेको प्रमाणपत्रको आधारमा अंगीकृत नागरिकता दिनुपर्छ । तर‚ अंगीकृत नागरिकलाई सांसद, मन्त्रीलगायत कुनै पनि राजनीतिक अधिकार दिन हुन्न ।’