नेपालमा चीन, अमेरिका र भारतको तानातान बढ्दो छ अध्यक्ष बाबुराम भट्टराई

१ बर्ष अघि

२0७९ आश्विन ९ आईतवार

नेपालमा चीन, अमेरिका र भारतको तानातान बढ्दो छ  अध्यक्ष  बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताए।

भूराजनीतिक संकटका कारण देशमा संघीयता र अर्थतन्त्रलाई कमजोर पार्ने तथा अराजकता निम्त्याउने प्रयास भइरहेको उनको बुझाइ छ। अध्यक्ष भट्टराईले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउन अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गरे।

‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ। किनकि पुराना शक्तिहरूले यो देशलाई झन् बर्बादीतिर लिएर जाँदै छन्। जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दै छ। यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दै छन्, ठूलो संकट आउँदै छ,’ अध्यक्ष भट्टराईले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको भन्दै उनले राज्यका सबै अंगहरूमा बेथिति भित्रिएको टिप्पणी गरे। यस्ता बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको उनको जिकिर छ। नयाँपत्रीका