पत्रकार राजेन्द्र धामी प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

१ बर्ष अघि

२0७९ आश्विन ६ बिहीबार

पत्रकार राजेन्द्र  धामी प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

दार्चुला । दार्चुलाका पत्रकार राजेन्द्र धामीलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा धामीसहित १४ जना पत्रकारलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । प्रेस काउन्सिल नेपालले असोज ६ गते आज वार्षिकोत्सवको अवशरमा पुरस्कार प्रदान गरेको हो । राष्ट्रपति विद्यादेबि भण्डारीले एक समारोहका बिच पत्रकार धामीलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।

पुरस्कृत धामी सारथी मिडिया नेटवर्कका सञ्चालक एबं अध्यक्ष हुनुहुन्छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ घर भएका धामी डेढ दशक लामो समयदेखि पत्रकारिता तथा सञ्चारकर्ममा सक्रिय हुनुहुन्छ । पत्रकारितासंगै समाजिक क्षेत्रमा काम गर्ने क्रममा सरकारी निकायबाट प्रदान गरिएको पुरस्कारले थप हौसला मिलेको धामीले बताउनुभयो ।

प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारसहित विभिन्न विधाका पुरस्कार आजै वितरण गरेको छ । युवा पत्रकारिता पुरस्कारबाट पुर्खौली घर दार्चुला भइ कञ्जनपुरमा पत्रकारिता गर्दै आएका पत्रकार सुरेश धामी पनि पुरस्कृत हुनुभएको छ ।

गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गरिएकोछ । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार माधव बिद्रोही, प्रेस काउन्सिल आचार संहिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिक र आवाज एफएमलाई प्रदान गरिएको छ । यस्तै, प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारी, प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार टेकराज थामीलाई प्रदान गरिएको छ ।