दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास

२ बर्ष अघि

२0७९ आश्विन ३ सोमबार

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास

दार्चुला । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो । नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री सीएम पुष्करसिंह धामीले पुलको सोमबार दिउँसो शिलान्यास गर्नुभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । भारत सरकारको लगानीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा भारतीय राजदुतावासका प्रतिनिधि, दार्चुलाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको समेत पुजा गरिएको छ ।

नेपालतर्फ पुलको शिलान्यास गर्नुहुदै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल(भारत जोड्ने मोटर पुल बन्न लागेको बताउनुभयो । यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन । मन्त्री बडूले भन्नुभयो, दार्चुलामा पुल बनेसंगै सुदूरपहाडको समृद्धिको ढोका खुल्छ । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय ९नेपाल(भारत(चीन० व्यापारको समेत ढोका खुल्ने उहाँको भनाइ छ । पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने उहाँले बताउनुभयो । २०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताउनुभयो । महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुला, बैतडी, बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको भनाई छ ।


यसअघि पटकपटक महाकालीमा नेपाल(भारत जोड्ने पक्की पुल निर्माणका लागि प्रकृया अघि बढेपनि निर्माण कार्य सुरु हुन सकेको थिएन । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पुल निर्माणको सर्भे भएर निर्माण कार्यको थालनी नहुदै टेण्डर रद्ध गरिएको थियो । त्यसपछि पनि पुल निर्माणको विषयमा पटकपटक दुई देशबिच छलफल भएपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन । पछिल्लो समय गत महिना मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ ।

दार्चुलामा महाकाली नदीमाथि भारतसंग जोड्ने सात वटा झोलुंगे पुलहरु सञ्चालनमा रहेका छन् । दुई वटा पुलहरु निर्माणाधिन अवस्थामा रहेका छन् भने थप केही पुलहरु निर्माणका लागि पहल भइरहेको छ । तर मोटरेबल पुल नहुदा कनेक्टिभिटीमा कतिपय समस्याहरु कायमै रहेका छन् । मोटरेबल पुल नभएको कारणले गर्दाखेरि भारतसंगको कनेक्टिभिटीमा केही कमि महसुस भइरहेको छ, प्रजिअ उपाध्यायले भन्नुभयो, विशेषगरी दार्चुला जिल्ला अस्पतालबाट रेफर भएका विरामीहरुलाई पिथौरागढ लैजाने प्रवृति देखिएको छ । मोटर पुल भए सहज रुपमा त्यहाँ गएर उपचार गर्न सम्भव हुन्थ्यो । त्यसैगरी दुबै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउन समेत पुल महत्तपूर्ण हुने उहाँको भनाई छ । पुल बन्ने चर्चा चलेको वर्षौँ भईसक्यो, स्थानीय भुवन जोशीले भन्नुभयो, अहिले शिलान्यास भएकोले छिट्टै पुल निर्माण सम्पन्न हुने आशा पलाएको छ । पुल छिटो निर्माण गरिदिन स्थानीयले अनुरोध गरेका छन् ।

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई बलियो बनाउन तथा दुवैतर्फको समुदायबीच रहेको सम्बन्ध र सम्पर्कलाई थप मजबुत बनाउन भूमिका खेल्ने महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीरले बताउनुभयो । नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुंगे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै सडक यातायात र मालसामान ढुवानीमा पनि सहज हुने स्थानीयहरूको प्रतिक्रिया छ