महाकाली नगरपालिकाद्धारा ३० परिवारलाई राहत वितरण

२ बर्ष अघि

२0७९ आश्विन २ आईतवार

महाकाली नगरपालिकाद्धारा ३० परिवारलाई राहत वितरण

दार्चुला । महाकाली नगरपालिकाले आइतबार (आज) लास्कु खोलाका बाढी पीडित ३० परिवारलाई राहत रकम वितरण गरेको छ । महाकाली नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समिति अध्यक्ष, नगरप्रमुख नरसिंह चैसीरको अध्यक्षता एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको विशिष्ट आतिथ्यता रहेको राहत वितरण कार्यक्रममा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिय अनुसन्धानका प्रहरी नायव उपरीक्षक, रेडक्रस प्रतिनिधि, कर्मचारी, पीडितहरु र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट आज मृतक चार जनाको परिवारलाई एक लाखका दरले, पूर्ण रुपमा घर क्षति भएका १६ जनालाई ५० हजारका दरले र उच्च जोखिममा रहेका १० जनालाई १५ हजारका दरले  राहत रकम वितरण गरिएको हो । बाढी पीडित सबैलाई राहत रकम वितरण गर्ने गरी नगरपालिकाले तयारी थालेको छ । भोलि पनि कार्यालय खुला रहने र तथ्यांक रुजु गरेर छिट्टै बाँकी पीडितलाई राहत रकम वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाले बताउनुभयो ।
नगरपालिकाले बाढीका कारण मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले नगरपालिकाको तर्फबाट राहत उपलब्ध गराउने यसअघि नै निर्णय गरिसकेको थियो । यस्तै पूर्ण रुपमा घर क्षति भएको परिवारलाई प्रति परिवार ५० हजार र जोखिममा रहेका घरपरिवारलाई १५ हजार रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय गरिएको थियो । सोहि निर्णय अनुसार पीडितलाई राहत वितरण कार्य भइरहेको हो ।

भदौ २४ गते शुक्रबार रातिको अविरल वर्षाले दार्चुलामा पाँच जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता र आठ जना घाइते भएका थिए । जसमध्ये महाकाली नगरपालिकाका दुई जनाको शव फेला परेको थियो भने १० जना बेपत्ता थिए । बेपत्तालाई समेत मृतक सरह राहत वितरण गरिने बताइएको छ । बाढीले दुई वटा विद्यालय भवन, डुङरी मन्दिर र विद्युतको पावरहाउस, लास्कुखोलाको एउटा मोटरेबल पुल, दुई वटा झोलुंगे पुल, बंगाबगरमा पार्किङमा राखेका नौँ वटा सवारीसाधन बगाएको थियो ।

दार्चुलामा बाढी पहिरोका कारण हालसम्म १७० घरमा क्षति भएको प्रहरीको प्रारम्भीक तथ्याङक छ । ६६ घरहरु पूर्णरुपमा क्षति भएको छ । करिब १०० घर जोखिममा रहेका छन । दार्चुलामा बर्षेनी बाढी पहिरोका कारण ठूलो जनधनको क्षति हुदै आएको छ ।  क्षतिको आधिकारिक विवरण तयार गरेर सोहि अनुसार सबै पीडितलाई राहत वितरण गरिने नगरपालिकाले जनाएको छ ।