धनगढीबाट डोटी र बैतडीको हवाइ उडान सेवा ४ महिनादेखि बन्द, किन

२ बर्ष अघि

२0७९ भाद्र ३१ शुक्रबार

धनगढीबाट डोटी र बैतडीको हवाइ उडान सेवा ४ महिनादेखि बन्द, किन

धनगढीः कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको १६ यात्रु क्षमताका ९ एन—एकेजेड विमानले पहाडी जिल्लाहरुमा उडान भर्दै आएको थियो। डडेल्धुरा बाहेक पहाडी ६ जिल्लामा विमानस्थल छन्। त्यसमा पनि दार्चुला बाहेक सबै जिल्लामा हवाइ सेवा सुरु भएको थियो। तर, पछिल्लो चार महिनादेखि बैतडी र डोटीको हवाइ उडान सेवा बन्द भएको छ। नेपाल वायुसेवा निगम र समिट एयरले हवाइ सेवा बन्द गरेका हुन्। 


डोटीका स्थानीय तेज डुम्रेलले डोटी विमानस्थलमा जहाज आउन छोडेको बताए। ‘धेरै भयो, विमान नआएको। दसैंको बेलामा पनि विमानस्थल सुचारु नभए समस्या हुने देखिएको छ,’ उनले भने, ‘जहाज आएको भए यताका उता र उताका यता आउन सहज हुने थियो।’


यात्रुको संख्या घटेको कारण देखाउँदै धनगढी र नेपालगञ्जबाट डोटी तथा बैतडीमा हवाइ उडान सेवा चार महिनादेखि बन्द भएको छ। संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले सुदूरपहाडका विमानस्थलबाट नियमित उडान गर्न भनेपनि विमान कम्पनीहरुले विभिन्न बहाना बनाउँदै आएका छन्।


 समिट एयरले बैतडी र डोटीमा सातामा एक दिन उडान भर्ने तालिका बनाएको थियो। तर उक्त तालिका कार्यान्वयन भएको छैन। शुक्रबार डोटी र बिहीबार बैतडीमा उडान भर्दै आएको समिट एयरले सेवा बन्द नै गरेको छ। समिट एयरका प्रतिनिधि सिनेशराज शाहीले डोटी र बैतडीको सेवा यात्रु नभएका कारण बन्द गरेको बताए। उनले भने, ‘डोटी र बैतडी बाहेकका अन्य जिल्लामा जहाज जाँदैछ। तर डोटी र बैतडीमा यात्रु कम भएकाले जहाज जान रोकेका हौं।’


धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले पनि विमान कम्पनीहरुले यात्रुको समस्या देखाएर सेवा बन्द गरेको बताएका छन्।  नेपाल नागरिक उड्यन प्राधिकरणले धनगढीलाई केन्द्र बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन गर्न एयर ट्राफिक कन्ट्रोलर खटाइसकेको थियो। टर्मिनल भवन, टावरलगायतका अन्य उपकरण जडान नभएको अवस्थामा तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको हो। तर, पछिल्लो समयमा नेपाल वायुसेवा निगमको जहाज नेपालगञ्जमा राखिएको छ।  आउँदै गरेका चाडपर्वको समयमा पनि हवाइ सेवा सुचारु नभए सुदूर पहाडका यात्रुहरुले दुःख पाउने देखिएको छ।