दार्चुलाको छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

२ बर्ष अघि

२0७९ भाद्र ३0 बिहीबार

दार्चुलाको छाङरुमा  नेपाल टेलिकमको फोरजी सेवा सुरु

दार्चुला । नेपाल टेलिकमले दार्चुलाको व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा फोरजी सेवा सुरु भएको छ । दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर सेवा सञ्चालनमा ल्याएको हो ।  यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमाना सम्म पुगेको छ ।  फोरजी सेवाका लागि नेपाल टेलिकमले दार्चुला जिल्लाको महाकाली नगरपालिका स्थित बालाशिखर स्थित रिपिटर स्टेशनबाट व्यास गाउँपालिकाको ब्रम्हलेकसम्म माइक्रोवेभ रेडियो लिंकमार्फत र त्यहाँबाट ज्याक्ती हुँदै छाङरु सम्म आवश्यक नेटवर्क निर्माण गरेको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनभुभयो ।  छाङरुका लागि आवश्यक उपकरण दार्चुलाको खलंगादेखि हेलिकप्टरबाट ४५ किलोमिटरको एरियल डिस्टेन्समा ढुवानी गरिएको थियो । अब छाङरुमा रहेका करिव १२० जति घरधुरी र ७ सय जति जनसंख्या तथा अन्य क्षेत्रका गरी करिव ४ हजार जनसंख्या यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । अब छाङरुको वरिपरि रहेका  क्षेत्र र सीमाना सम्म फोरजीको पहुँच पुगेको छ । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको सो क्षेत्रमा ब्यान्ड २० अर्थात ८०० मेगाहर्जमा मोबाइलमार्फत भ्वाइस र डाटा चलाउन सकिन्छ, अब ९०० मेगाहर्जको २ जि सेवाको काम पनि सुरु भएको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख गुरुङले बताउनु भयो । यो स्थानमा सशस्त्र प्रहरीको बेस क्याम्प तथा नेपाल सरकारका अन्य विभिन्न कार्यालय समेत रहेका छन् । विकट र दुर्गम स्थानमा समेत सेवा उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार  देशका विभिन्न विकट स्थानमा हेलिकप्टरमार्फत उपकरण ढुवानी गरेर पनि सेवा उपलब्ध गराइरहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।