निर्वाचन आचारसंहिता संशोधन गर्न दबाब प्रधानमन्त्री, मन्त्रीले प्रचार गर्न पाउनुपर्ने माग

२ बर्ष अघि

२0७९ भाद्र २९ बुधबार

निर्वाचन आचारसंहिता संशोधन गर्न दबाब  प्रधानमन्त्री, मन्त्रीले प्रचार गर्न पाउनुपर्ने माग

काठमाडौं । सत्ता गठबन्धन दलमा आबद्ध नेताले प्रधानमन्त्री र मन्त्रीहरू आफू उमेदवार भएको क्षेत्रबाहेक अन्यत्र निर्वाचन प्रचारप्रचारमा जान नपाउने आचारसंहितामा संशोधन गर्न माग गरेका छन् । बुधबार निर्वाचन आयोगमा भएको छलफलमा उनीहरूले प्रधानमन्त्री, मन्त्रीहरू अन्यत्र पनि चुनावी प्रचारप्रसारमा जान पाउनुपर्ने माग राखेका हुन् ।

“प्रधानमन्त्री, संघीय मन्त्री, प्रदेश मन्त्री, स्थानीय तहका पदाधिकारीले चुनावप्रचार गर्न नपाउने भन्ने सन्दर्भमा हामीले लोकतान्त्रिक व्यवस्थामा प्रचार गर्न जान पाउनुपर्‍यो । साधन–स्रोतको दुरुपयोग गर्नु भएन,” नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बाह्रखरीसँग भने, “योजना, सहयोग बाँड्ने कार्यक्रमचाहिँ कडाइका साथ रोकौँ । तर, प्रचार गर्न पाउने गरी खुला गरौँ भन्ने कुरा राख्यौँ ।”

प्रधानमन्त्री, मन्त्रीसहितका उमेदवारले आफ्नो निर्वाचन क्षेत्रमा भने प्रचारप्रसार गर्न पाउने व्यवस्था छ । यस्तै, उमेदवारले निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्ने र प्रतिनिधि नियुक्त गर्ने व्यवस्था अव्यावहारिक हुने कुरा आफूहरूले राखे उनले बताए ।