सिटामोलको चरम अभाव

२ बर्ष अघि

२0७९ भाद्र २९ बुधबार

सिटामोलको चरम अभाव

काठमाडौँ — डेंगु संक्रमण तीव्र बनेका बेला बजारमा सिटामोलको चरम अभाव देखिएको छ । अहिले राजधानी उपत्यकाका अधिकांश फार्मेसीमा सिटामोल पाइँदैन । सिटामोल किन्न आउनेलाई फार्मेसीले दुखाइ कम गर्ने वैकल्पिक औषधि दिएर पठाउने गरेका छन् । जसका कारण महँगो मूल्य तिर्नुपर्ने र चाहिनेभन्दा फरक औषधि सेवन गर्नुपर्ने बाध्यता छ ।

मंगलबार कालीमाटीस्थित हक मेडिकल हलमा डेंगु संक्रमित छोरालाई सिटामोल किन्न आएकी काभ्रेकी सावित्री गुरागाईं खाली हात फर्किइन् । चारवटा मेडिकल पुग्दा पनि नपाएको उनले बताइन् । बूढानीलकण्ठ नगरपालिका–१३ का जयराज पोखरेलले पनि सिटामोल पाएनन् ।

फार्मेसी सञ्चालक ज्याउल हकका अनुसार एक महिनायता सिटामोल आउन छाडेको छ । ‘सातायता माग ह्वात्तै बढेको छ, यहीबीच सरकारी उत्पादन मात्र नभई निजी कम्पनीका सिटामोल पनि आउन छाडे,’ उनले भने । उनका अनुसार बजारमा नेपाल औषधि लिमिटेड, निजी कम्पनी निको, भारतीय मेडोमोलको सिटामोल आउँछ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले मूल्य बढाउन उद्योगहरूले उत्पादन घटाएर कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाए । ‘औषधि व्यवस्था विभागमा मूल्य बढाउन चलखेल सुरु भइसकेको छ,’ उनले भने, ‘सिटामोल जस्तो अत्यावश्यक तथा जीवनरक्षक औषधिको मूल्य बढाएमा न्यायका लागि अदालत जानुपर्ने हुन्छ ।’ विभागका सूचना अधिकारी सन्तोष केसीले मूल्य बढाउन नभई समयानुकूल समायोजन गर्न खोजेको प्रतिक्रिया दिए ।

‘१० वर्षअघि निर्धारण गरेको मूल्यमा अहिले बिक्री गर्न सकिँदैन,’ उनले भने, ‘मूल्य समायोजन नभएमा माग बढेका बेला जहिल्यै अभाव सिर्जना हुन्छ ।’ तत्काल अभाव हुन नदिन र उत्पादन बढाउन नेपाल औषधि लिमिटेडलाई आग्रह गरिरहेको उनले बताए ।


नेपालमा सरकारी लगानीमा सिटामोल उत्पादन गर्ने जिम्मेवारी नेपाल औषधि लिमिटेडलाई छ । कच्चा पदार्थ महँगो, खरिद ऐन झन्झटिलो, बजार भाउअनुसार मूल्य परिमार्जन नभएको र बजेट अभावका कारण पर्याप्त उत्पादन गर्न नसकेको लिमिटेडको भनाइ छ ।

महाप्रबन्धक मोहम्मद सफिउल्लाहले अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन नगर्दा समस्या निम्तिएको बताए । ‘उद्योग मन्त्रालयमार्फत बजेटका लागि पेस भएको फाइल अर्थमा पुगेपछि हराउने गरेको छ,’ उनले भने, ‘बजेट अभावका कारण लाइसेन्स प्राप्त १३ वटा अन्य औषधि अझै उत्पादन गर्न सकेका छैनौं ।’ यही कारण अन्य उत्पादनबाट नाफा लिएर सिटामोल त्यही मूल्यमा दिन नसक्ने बताए ।

बजारमा वार्षिक ५ करोड चक्कीको मात्र माग भए पनि लिमिटेडले मागअनुसार उत्पादन गर्न सकेको छैन । प्रत्येक वर्ष ८० लाख हाराहारीमा मात्र चक्की उत्पादन हुने गरेको छ । सरकारले सिटामोलको बिक्री मूल्य प्रतिचक्की एक रुपैयाँ तोकेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले निजी कम्पनीले सिटामोलबाहेक अन्य औषधि उत्पादन गर्दा हुने फाइदाबाट पनि घाटा पूर्ति गर्न सकिने बताए । ‘हामीले निजी कम्पनीलाई पनि उत्पादन गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘बजारमा सिटामोल अभाव देखिएपछि औषधि लिमिटेडलाई सक्रिय बनाइएको छ ।’

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले लागत मूल्य भए पनि पाउनुपर्ने बताए । ‘एउटा सिटामोल बनाउन १ रुपैयाँ ३० पैसा लागत पर्छ । होलसेलरलाई ७४ पैसामा वितरण गर्नुपर्छ,’ उनले भने, ‘मूल्य समायोजन नभएसम्म समस्या हट्दैन ।कान्तिपुर बाट