महाकाली नगरपालिकाले प्रति मृतक एक लाख, घर क्षति भएकालाई ५० हजार राहत दिने

२ बर्ष अघि

२0७९ भाद्र २८ मंगलवार

महाकाली नगरपालिकाले प्रति मृतक एक लाख, घर क्षति भएकालाई ५० हजार राहत दिने

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले बाढीपहिरो पीडितलाई नगरपालिकाको तर्फबाट राहत दिने घोषणा गरेको छ । सोमबार  नगरकार्यपालिकाको आकस्मिक बैठक बसी लास्कु खोलाका बाढी प्रभावित नागरिकलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउन निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको परिवारलाई प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराइनेछ । महाकालीमा दुई जना मृतकको शव फेला परेको छ भने १० जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरु जीवित भेटिने सम्भावना नरहेको उद्धारमा खटिएकाहरु बताउछन् । बेपत्ताहरु नभेटिएमा प्रहरी प्रशासनको सिफारिसमा गृह मन्त्रालयले मृतक घोषणा गर्ने व्यवस्था छ । सरकारले बेपत्तालाई मृतक घोषणा गरेलगत्तै उनिहरुको परिवारलाई समेत राहत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।


यस्तै पूर्ण रुपमा घर क्षति भएको परिवारलाई प्रति परिवार ५० हजार रुपैया र जोखिममा रहेका घरपरिवारलाई तत्काल १५ हजार राहत रकम उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख नरसिंह चैसीरले बताउनुभयो । पूर्ण रुपमा क्षति भएको घट्ट पूनर्निमाणको प्रथम किस्ता ५० हजार दिने पनि नगरकार्यपालिकाले निर्णय गरेको छ ।

यसअघि प्रदेश सरकारको तर्फबाट मृतकको परिवारलाई एक लाख राहत उपलब्ध गराउने घोषणा गरिएको छ भने संघीय सरकारबाट समेत प्रति मृतकको परिवारलाई प्रशासन कार्यालयमार्फत दुई लाख राहत उपलब्ध गराउने कार्यविधि रहेको छ । एकै घरका एकभन्दा बढीको ज्यान गएमा प्रति मृतक थप एक लाखका दरले राहत उपलब्ध गराउने संघीय सरकारको कार्यविधि छ ।

दार्चुलामा शुक्रबार रातीको बाढी पहिरोका कारण महाकाली र नौगाड गाउँपालिकामा गरी ५ जनाको मृत्यु भएको छ । अझै १० जना बेपत्ता रहेका छन् । जिल्लामा ठूलो विपद् आउदा समेत संघीय सरकारले कुनै विशेष राहतको घोषणा नगरेको भन्दै जिल्लाबासीले गुनासो गरिरहेका छन् ।

यसैबिच महाकाली नगरपालिकाले सोबार शोक बिदा दिएको थियो । २४ गते राती परेको अविरल वर्षाका कारण लास्कु खोलामा आएको बाढीका कारण महाकाली नगरपालिका वडा १ देखि ४ सम्मका विभिन्न ठाउँमा व्यापक धनजनको क्षेति भएको घटनाले नगरपालिकालाई स्तब्ध बनाएको जनाएको छ । नगरपालिकाले एक बिज्ञप्ती जारी गर्दै महाकाली नगरपालिका मातहतका कार्यालय तथा शिक्षण संस्था कार्यालयहरू बन्द गरेको जनाएको छ । महाकाली नगरपालिकाका नगर प्रमुख नरसिह चैसिरद्धारा हस्ताक्षरित पत्रमा मृतक प्रति संवेदना प्रकट गर्दे नगरपालिका नगर कार्यपालिकाको आइतबार बसेको बैठकले २७ गते नगरपालिका मातहतका कार्यालयहरू बन्द गरी सार्वजानिक बिदा दिने निर्णय गरेको उल्लेख छ । साथै नगरपालिकाले ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षक तथा कर्मचारीहरुलाई उद्धार राहात र पुनस्थापना कार्यमा खटिन नगरपालिकाले आग्रह गरेको छ ।