बंगाबगडमा फेरी कटान सुरु, नदी नेपालतर्फ बग्दै, घरहरु जोखिममा

२ बर्ष अघि

२0७९ भाद्र २६ आईतवार

बंगाबगडमा फेरी कटान सुरु, नदी नेपालतर्फ बग्दै, घरहरु जोखिममा

दार्चुला । दार्चुलामा गयराती पनि वर्षा भएपछि कटान रोकिएको छैन् । महाकाली नदीको वहाव नेपालतर्फ आएको र लास्कु खोलामा पनि बाढी आउने क्रम नरोकिएकोले बंगाबगड क्षेत्रमा फेरी कटान सुरु गरेको छ । बंगाबगडका केही घरहरु जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । अहिले कटान रोक्नका लागि अस्थाई तटबन्धको व्यवस्थापनका विषयमा छलफल भइरहेको र जोखिमपूर्ण क्षेत्रमा नजान नागरिकलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । नदीको वहाव नेपालतर्फ भएकोले दार्चुला सदरमुकाम खलंगा बजार जोखिममा छ । यद्धपी महाकाली किनारको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोखिएको स्थानीयले बताएका छन् ।

दार्चुलामा शुक्रबार रातीको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ । थप १० जना अझै बेपत्ता रहेका छन् । बाढी पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, सोही ठाउँका १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहेको मगरले बताउनुभयो ।


दार्चुलाका सयौँ मानिस बाढी पहिरोबाट प्रभावित भएका छन् । आठ जना घाइते भएका छन् । गम्भीर घाइते पाँच जनाको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । पाँच जनाको उपचार भइरहेको र तीन जना घाइते अस्पतालबाट डिस्चार्ज भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । सल्ला गाउँमा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको बताइएको छ । बाढी पहिरोमा परी २६३ पशुचौपाया क्षति भएको प्रहरीको तथ्यांक छ । महाकाली नगरपालिकाका ६२ र नौगाड गाउँपालिकामा २९ गरी ९१ घरमा क्षति पुगेको छ । प्रहरी निरीक्षक मगरका अनुसार, ४२ घर पूर्ण क्षति भएको, ९ घर आशिंक क्षति भएको र ४० घर बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।

सरकारी संरचनातर्फ दुर्गेश्वरी आबि पण्डोरा र दशरथ आबि बंगाबगर बगाएको छ । डुङरी विद्युत पावर हाउस पूर्ण रुपमा क्षति भएको छ । लास्कुखोलामा एउटा झोलुंगे पुल र एउटा मोटरेबल पुल बगाएको छ । नौगाडमा दुई वटा झोलुंगे पुल, दुई वटा आरसीसी पुल र दुई वटा घट्ट बगाएको छ । सवारी साधनतर्फ छ वटा जिप, एउटा ट्याक्टर, एउटा जेसिभि बगाएको छ । आजपनि वर्षाको सम्भावना भएकोले विपद्को जोखिम भएका ठाउँमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । खोला र नदीको धार परिवर्तन गर्नका लागि जेसिबि, स्काइभेटर प्रयोग गरिदिन अनुरोध गरेपनि नेता र प्रशासन कसैले नसुनेको स्थानीयले गुनासो गरेका छन् ।