दार्चुला बाढी पहिरो अपडेटः ५ जनाको मृत्यु, १० बेपत्ता, ८ घाइते

२ बर्ष अघि

२0७९ भाद्र २५ शनिबार

दार्चुला बाढी पहिरो अपडेटः ५ जनाको मृत्यु, १० बेपत्ता, ८ घाइते

दार्चुला । दार्चुलामा शुक्रबार रातीको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ । थप १० जना अझै बेपत्ता रहेका छन् । बाढी पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, सोही ठाउँका १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहेको मगरले बताउनुभयो ।

दार्चुलाका सयौँ मानिस बाढी पहिरोबाट प्रभावित भएका छन् । आठ जना घाइते भएका छन् । गम्भीर घाइते पाँच जनाको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक मगरले बताउनुभयो । घाइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था गम्भीर छ । सल्ला गाउँमा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको बताइएको छ । बाढी पहिरोमा परी २६३ पशुचौपाया क्षति भएको प्रहरीको तथ्यांक छ । महाकाली नगरपालिकाका ६२ र नौगाड गाउँपालिकामा २९ गरी ९१ घरमा क्षति पुगेको छ । प्रहरी निरीक्षक मगरका अनुसार, ४२ घर पूर्ण क्षति भएको, ९ घर आशिंक क्षति भएको र ४० घर बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । सरकारी संरचनातर्फ दुर्गेश्वरी आबि पण्डोरा र दशरथ आबि बंगाबगर बगाएको छ । डुङरी विद्युत पावर हाउस पूर्ण रुपमा क्षति भएको छ । लास्कुखोलामा एउटा झोलुंगे पुल र एउटा मोटरेबल पुल बगाएको छ । नौगाडमा दुई वटा झोलुंगे पुल, दुई वटा आरसीसी पुल र दुई वटा घट्ट बगाएको छ । सवारी साधनतर्फ छ वटा जिप, एउटा ट्याक्टर, एउटा जेसिभि बगाएको छ । नौगाड गाउँपालिका–१ नागुमा चट्याङ लागेर स्थानीयका दुई सय भेडाबाख्रा मरेको स्थानीय श्याम धामीले बताउनुभयो ।


सक्रियतापूर्वक उद्धार, राहतका लागि पहल
एक्कासी परेको अबिरल वर्षाका कारण आएको बाढी पहिरोले वितण्डा मच्चाएपछि दार्चुलाका सयौँ मानिस प्रभावित भएका छन् । बाढी पहिरो प्रभावितहरुको खोजि र उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै नेपाल रेडक्रम, स्थानीय र राजनीतिक दलहरुले सक्रियतापूर्वक काम गरेका छन् ।

घाइतेको उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीबाट राहत सामाग्री समेत ल्याइएको छ । राहत वितरणका लागि नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोली समेत दार्चुला आइपुगेको छ । प्रतनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना उद्धार र राहतका लागि शुक्रबार राति देखि नै निरन्तर पहल गरिरहनुभएको छ । संघीय र सुदूरपश्चिम प्रदेश सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ । स्थानीय तहहरुले तत्काल बाढी पहिरो प्रभावितलाई त्रिपाल, राशन लगायत सहयोग गरेका छन् । कार्यपालिकाको निर्णय अनुसार थप राहतको व्यवस्थापन गरिने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीरले बताउनुभयो । राहत र उद्धारका लागि विभिन्न राजनीतिक दलहरुले समेत नेता, कार्यकर्तालाई अनुरोध गरेका थिए । मन्त्री दिलेन्द्रप्रसाद बडू, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन तथा वातावरण मन्त्री मानबहादुर धामी लगायत नेताहरुले समेत उद्धार र राहतका लागि निरन्तर पहल र समन्वय गरिरहनुभएको छ । दार्चुलामा वर्षेनी बाढी पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको छ ।

बाढीपछि महाकाली नदी थुनियो

महाकाली र लास्कु खोलामा आएको बाढीपछि महाकाली नदी थुनिएको छ । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म बाँध बनेको छ । थुनिएको नदी खुलाउन तथा जोखिममा रहेका स्थानीयको तत्काल उद्धार गर्न माग भइरहेको छ ।

नदी थुनिएपछि दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलंगा आउने–जाने बाटो समेत बन्द भएको स्थानीय समाजसेवी हरदेब जोशीले बताउनुभयो । बाढी पहिरोकै कारण दुहुँ र नौगाड क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदी थुनिएपछि धार परिवर्तन भएर नेपालतर्फ थप क्षति हुने भन्दै स्थानीयले थुनिएको नदी खुलाउन सरकारसंग माग गरेका छन् ।

यस्तो छ राहत सम्बन्धि सरकारी मापदण्ड
नेपाल सरकारले विपद्मा ज्यान गुमाएका परिवारका सदस्यलाई राहत प्रदान गर्दै आएको छ । नेपाल सरकार ९मन्त्रिपरिषद्० को २०७७ साल साउन ५ गतेको निर्णय अनुसार “प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४ लाई सुधार गरेर लागु गरेको छ । जसअनुसार विपद्को घटनामा परि कुनै परिवारमा १ जनाको मृत्यु भएमा २ लाख राहत प्रशासन कार्यालयमार्फ प्रदान गर्ने गरिएको छ । सोहि परिवारमा अरुको मृत्यु भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत उपलब्ध गराउने मापदण्ड छ ।

यस्तै प्रमुख जिल्ला अधिकारीले २५ जनाको दक्ष जनशक्ति जुनसुकै वेला परिचालन हुन सक्ने अवस्थामा राख्नु पर्ने साथै आपतकालिन खाद्यान्न एवं लत्ता कपडाको भण्डारणको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तत्काल गुजाराका लागि ५ जना परिवारका लागि रू १५ हजार र ५ भन्दा बढि परिवार सदस्य भए रू २० हजार राहत सम्भव भए तत्काल उपलब्ध गराउने व्यवस्था छ । अर्को स्थानमा बसोबास गर्ने घर नभएको अवस्थामा सम्भावित खतराबाट जोगिन सुरक्षित स्थानमा नया घर निर्माण गर्नु पर्ने भएमा जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरि प्रति परिवार रू १ लाख उपलब्ध गराउन सकिने व्यवस्था छ ।