दार्चुला बाढी पहिरो अपडेटः बाढीपहिरो पीडितका लागि राहत बोकेर तीन मन्त्री दार्चुला आइपुगे

२ बर्ष अघि

२0७९ भाद्र २५ शनिबार

दार्चुला बाढी पहिरो अपडेटः बाढीपहिरो पीडितका लागि राहत बोकेर तीन मन्त्री दार्चुला आइपुगे

दार्चुला । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र उद्योग, वन तथा वनमन्त्री मानबहादुर धामी दार्चुला आइपुगेका छन् । मन्त्रीत्रय बडू, रावल र धामी राहत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला आइपुगेका हुन् ।

बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली आएको बताइएको छ। दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा परेर ५ जनाले ज्यानै गुमाएका छन्। थप १० जना बेपत्ता छन भने ८ जना घाइते भएका छन् ।


बाढीपहिरोमै परेर महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको दार्चुला प्रहरीले जनाएको छ। बाढीपहिरोमा परेर ठूलो धनजनको क्षति भएपछि दार्चुलाको नौगाड गाउँपालिका र महाकाली नगरपालिका शोकमा डुबेको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको सेनोको हेलिकोप्टरमार्फत उद्धार गरेर खलंगा अस्पतालमा उपचार भैरहेको छ।

उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीका साथै राजनीतिक दल, रेडक्रस र स्थानीयहरु खटिएका छन् ।

यस्तै नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले पनि बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।