एक्लै चुनाव लड्न दबाब सिर्जना गरौं कोइराला

२ बर्ष अघि

२0७९ भाद्र २४ शुक्रबार

एक्लै चुनाव लड्न दबाब सिर्जना गरौं  कोइराला

नेपालगन्ज । नेपालगन्जका विभिन्न वडाहरुमा ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत् कार्यक्रमहरु गरिएका छन् । आज वडा नम्बर ९, १४ र १८ मा कार्यक्रमहरु गरिएका हुन् ।

स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरुको बाक्लो उपस्थितिमा गरिएका कार्यक्रमहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पालिका प्रतिनिधिका रुपमा नेपालगन्जमा खटाएका जिल्ला सचिव सुधांशु कोइरालाले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित उक्त कार्यक्रममा कोइरालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको विकल्प नभएको बताउँदै पार्टीलाई जिताउन कम्मर कसेर लाग्न आह्वान गरे ।

पार्टीले गठबन्धन गर्ने निर्णय गरेपनि ठोस प्रगति नभएकाले एक्लै लड्ने मनस्थितिका साथ तयारीमा लाग्न कोइरालाले निर्देशन दिए । एक्लै लड्नका लागि केन्द्रमा दबाब सिर्जना गर्नुपर्ने उनले बताए । उनले संविधानपिता स्वर्गीय सुशील कोइरालाको गृह नगरमा कोइरालाको सम्मानका लागि पनि कांग्रेस एक्लै लड्नुपर्ने बताए । अधिकांश नेता कार्यकर्ताले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका थिए ।

वडा नम्बर ९ मा वडा सभापति अकबर शेखको सभापतित्वमा भएको कार्यक्रममा सचिव कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, सचिव प्रदिप साह, प्रदेश क्षेत्रीय सचिव गोकर्ण शाही, नेपालगन्ज नगर सभापति एवम् मेयर प्रशान्त विष्ट लगायत उपस्थित थिए ।