नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, शर्त बिआरआई

२ बर्ष अघि

२0७९ भाद्र २२ बुधबार

नेपालमा वामपन्थी गठबन्धनको कसरतमा सक्रिय चीन, शर्त बिआरआई

काठमाडौं । २०७४ को प्रतिनिधि र प्रदेश निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच गठबन्धन गराएको चीन अहिले पनि वामपन्थी गठबन्धनको कसरत गरिरहेको छ। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा मंसिरको चुनावपछि पनि सत्ताको नेतृत्वमा आएको अवस्थामा बीआरआई अघि नबढ्ने निष्कर्ष निकालेको चीनले जसरी पनि वामपन्थीलाई सत्ताको चाबी सुम्पिनुपर्ने दबाबमा चीन रहेको छ। त्यसका लागि सकेसम्म वामपन्थी गठबन्धनका लागि चीनले कसरत गरिरहेको छ।

सकेसम्म चुनावअघि नभए चुनावपछि भए पनि वामपन्थी गठबन्धन गराउने योजनामा चीन रहेको छ। यो गठबन्धन सरकारसँग र पाँच पार्टीको नीतिसँग भारत सरकार निकै ‘कम्फर्टेबल’ रहँदै आएको चीनको बुझाइ छ। चुनावपछि जसरी पनि यो गठबन्धनलाई भत्काएर नयाँ वामपन्थी गठबन्धन बनाउने योजनामा चीन रहेको भारतीय रक्षा मन्त्रालय मातहतको मनोहर पार्रिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालिसिसका रिसर्च फेलो निहार नायकले बताए।

नेपालको पूर्वाधार र जलविद्युत विकास लगायत अनेक क्षेत्रमा नेपाल–भारतबीच सहकार्य बढिरहेको विषय चीनका लागि टाउको दुखाइ बनेको छ। यस्तो अवस्थामा नेपालमा उर्जा लगायतका क्षेत्रमा हुने चिनियाँ लगानीलाई बढाउनका लागि पनि चीनले नेपालमा वामपन्थी सरकार चाहन्छ। त्यसकारण चीनले अहिलेको गठबन्धन सरकार भत्काउनैपर्ने योजना चीनको रहेको नायकको विश्लेषण छ।

चीनले श्रीलंका, पाकिस्तानजस्ता मुलुकहरुलाई ऋण लगानी गरेर आर्थिक संकटमा फसाएको उदाहरण हेरेको नेपाललाई चीनको चंगुलबाट बाहिर निकाल्नका लागि प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिने योजना बनाएका छन्। चीनको लगानी पारदर्शी नभएको बीआरआईसहित चीनका परियोजनामा धेरै रणनीतिक चासो भएको र नेपालमा समेत चिनियाँ कम्पनीहरुहरु आफ्नो उद्देश्य घोषणा नगरी र वित्तीय विवरण नेपाल सरकारलाई नदिई सञ्चालन भइरहेका कारण पनि प्रधानमन्त्री देउवा चीनको ऋणबाट सशंकित भएका हुन्।

पछिल्लो समय देउवा नेतृत्वको सरकारलाई असफल पार्नका लागि चीनले लगातार नाकाबन्दीसमेत गरिरहेको छ। परराष्ट्रमन्त्रीसँगको छलफलमा नाका पूर्ण खुला गर्ने सहमति गर्ने तर, यथार्थामा नाका पूर्णरुपमा ठप्पा पार्ने काम चीनले गरिरहेको छ। यसले गर्दा नेपालको अर्थतन्त्रमा निकै नकारात्मक असर परिरहेको छ।