भारतको ’अग्निपथ’ योजनामा भद्र मौनता

२ बर्ष अघि

२0७९ भाद्र २२ बुधबार

भारतको ’अग्निपथ’ योजनामा भद्र मौनता

काठमाडौ । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवासँगको भेटमा भारतीय सेना प्रमुख पाण्डेले भारतीय सैन्य योजना ’अग्निपथ’मा नेपाली गोर्खा सैनिकलाई भर्ती गर्ने विषयमा कुराकानी हुने अपेक्षा गरिएको थियो।

प्रधानमन्त्रीसँग सिंहदरबारमा भएको भेटका क्रममा भने भारतीय सेनाध्यक्षले अग्निपथमा गोर्खा भर्ती गर्नेभन्दा पनि दुई मुलुकका सेनाबीचको विशिष्ट सम्बन्धको बारेमा चर्चा गरेका थिए। दुवै पक्षबीच अग्निपथको विषयमा कुनै कुरा नभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले जानकारी दिए। उनले भने, ’अग्निपथ योजना भारतीय राजनीति नेतृत्वको निर्णय भएकोले त्यहाँको सैन्य तहबाट यो कुरा उठेन। र, नेपालको राजनीतिक नेतृत्वले पनि अग्निपथका विषयमा सेनासँग कुनै कुरा गरेन।’


’अग्निपथ योजना’ भारत सरकारले ल्याएको योजना भएका कारण नेपाल सरकारले सेनासँग त्यस विषयका कुनै कुरा नगरेको उनले बताए। उनले भारतीय सेनासँग कुनै विशेषभन्दा पनि औपचारिक भेटवार्ता भएको जानकारी दिए।
’भारतीय सेना प्रमुख र प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता भयो। भेटका क्रममा नेपाल र भारतको परम्परागत र विशिष्ठ सेना–सेनाबीचको सम्बन्धको भारतीय सेना प्रमुखले प्रशंसा गर्दै गौरवपूर्ण भएको बताउनुभयो,’ उनले भने, ’भारतको सेनामा रहेर सेवा गरेका नेपालीहरुले भारतीय सेना र सरकारले गौरव र प्रशंसा गरेको सुनाउनुभयो। अर्को कुरा आफूलाई मानार्थ महारथी बनाएकोमा नेपाल सरकारलाई धन्यवाद दिनुभयो।’

नेपालबाट भारत र बेलायतका लागि मात्र सेना भर्ती गरिने भएकोले त्यो विश्वमा विशिष्ट सम्बन्धको नमुना भएको भन्दै सेनाध्यक्ष पाण्डेले प्रशंसा गरेको परराष्ट्र सल्लाहकार सुवेदीले जानकारी दिए।