मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने, समझदारीपत्रमा हस्ताक्षर

२ बर्ष अघि

२0७९ भाद्र २0 सोमबार

मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने, समझदारीपत्रमा हस्ताक्षर

दार्चुला । यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि दार्चुलाको मार्मा गाउँपालिकामा केन्द्र स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मार्मा गाउँपालिकाबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना गर्ने समझदारी भएको हो ।

उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा मन्त्रालय र गाउँपालिकाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष जमनसिंह धामी र मन्त्रालयको तर्फबाट सहसचिव बाबुराम गौतमले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । मन्त्री बडूले दार्चुलामा यार्सागुम्बा संरक्षण, अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गर्दा यार्सा संकलक किसान, व्यापारी र समग्रमा राज्यलाई नै फाइदा पुग्ने बताउनुभयो ।


मार्मा गाउँपालिकामा स्थापना हुने यार्सागुम्बाको संरक्षण तथा प्रशोधन केन्द्रले हिमाली भेगमा पाइने बहुमूल्य जडिबुटीको वास्तविक महत्व पत्ता लाग्ने विश्वास रहेको मन्त्री बडूको भनाई छ । हालसम्म देशभित्र यसको वैज्ञानिक अध्ययन र अनुसन्धान हुन पाएको छैन । संकलक र व्यापारीले पैसा कमाइरहेका छन् । यसको उपयोगिता के हो रु यसको मूल्य किन बढिरहेको छ रु उर्बरता र संरक्षण कसरी बढ्छ रु भन्ने विषयमा वैज्ञानिक अनुसन्धान जरुरी छ, उहाँले भन्नुभयो, मन्त्रालय र मार्मा गाउँपालिकाबीच भएको यो समझदारीले यार्सागुम्बाको उत्पादन, संरक्षण र व्यापारिक प्रयोजनका लागि हामीले कति तहसम्म जान सक्छौं भन्ने यकिन हुनेछ । यसको वैज्ञानिक अनुसन्धानबाट पत्ता लगाउनेछौं ।

मन्त्रालयले यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ मार्मा गाउँपालिकालाई दिने समझदारी पत्रमा उल्लेख छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले हालसम्म यार्सागुम्बाको संरक्षण, अनुसन्धान र प्रशोधन हुन नसकेको अवस्थामा मन्त्रालयले चालेको कदमले त्यसतर्फ विकास भएको बताउनुभयो । दार्चुलाका हिमालमा प्राप्त हुने जडिबुटी र यार्सागुम्बाको वैज्ञानिक अनुसन्धान हुन सकेको छैन । हामीले बाहिर निर्यात मात्रै गरिरहेका छौं । यसको अनुसन्धान गरेर अघि बढ्न सकिएको थिएन, अध्यक्ष धामीले भन्नुभयो, अहिले संरक्षण, अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने गरी अगाडि बढ्न चाहिरहेका छौं । यसमा संघीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ ।

मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीले यार्सागुम्बा अनुसन्धान र प्रशोधन केन्द्र स्थापनाका लागि अर्थ मन्त्रालय, वन तथा वातावरण र स्थानीय तहसँग सहर्कायको काम भइरहेको जानकारी दिनुभयो । प्रशोधन केन्द्र स्थापना गरेर काम थाल्ने गरी समझदारीपत्र भएको उहाँको भनाइ थियो । चालु आर्थिक वर्षमा नै यार्सागुम्बा अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना हुने सचिव ज्ञवालीले बताउनुभयो ।

यार्सागुम्बा अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापनाको लागि मन्त्रालय र मार्मा गाउँपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराको पनि उपस्थिति थियो । दार्चुलाको अपीहिमाल र व्यास गाउँपालिकामा सबैभन्दा बढी यार्सागुम्बा पाइन्छन् ।हिमाली क्षेत्रका नागरिकको प्रमुख आयआर्जको स्रोतका रुपमा यार्सागुम्बा रहेको छ ।