लेकम गाउँपालिका वडा नम्बर ५ मा जनगुनासो सुन्न २४ सैँ घण्टा टोल फ्रि नम्बर सञ्चालन

२ बर्ष अघि

२0७९ भाद्र २0 सोमबार

लेकम गाउँपालिका वडा नम्बर ५ मा जनगुनासो सुन्न २४ सैँ घण्टा टोल फ्रि नम्बर सञ्चालन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ ले पहिलो पटक वडामा जनताका सुझाब र गुनासो सुन्न टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । जनगुनासो सुन्न वडा कार्यालयले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको वडाअध्यक्ष बल्देबसिंह बोहराले जानकारी दिनुभयो । सकारात्मक सुझाबहरु ग्रहण गर्ने, जनगुनासो सुन्ने र आवश्यकता र प्राथमिकताका आधारमा सम्वोधन गर्ने मुख्य उद्देश्यले वडामा टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको वडाअध्यक्ष बोहराले बताउनुभयो ।

नेपाल टेलिकमको १६६०९३४२००१ नम्बरको टोल फ्रि नम्बरमा हरेक दिन २४ सैँ घण्टा गुनासो सुन्नका लागि संञ्चालनमा ल्याएका छौँ, उहाँले भन्नुभयो, सेवाग्राही जनताको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको हो । गाउँपालिकामा रिचार्जको बिल पेस गर्नुभन्दा सबैको सुझाब, सल्लाह, गुनासा र प्रतिक्रिया सुन्नका लागि टोल फ्रि नम्बर उपयुक्त हुने लागेर सेवा सुचारु गरिएको वडाअध्यक्ष बोहराको भनाई छ । टोल फ्रि नम्बरमा फोन गर्दा जनताको पैसा खर्च हुने छैन भने वडाअध्यक्ष बोहरासंग सिधै कुराकानी हुनेछ ।


स्थानीय सरकार तथा वडा कार्यालय सञ्चालनमा सल्लाह, सुझाव, जिज्ञासा, गुनासो तथा समस्या भएमा सिधै निःशुल्क टोल फ्रि नम्बरमा सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ । जनप्रतिनिधि, कर्मचारी र वडा कार्यालयको गतिशीलता, पारदर्शिता, जवफदेहीता तथा सुशासनका लागि टोल फ्रि नम्बर प्रभावकारी हुने अपेक्षा गरिएको छ । जनता र स्थानीय सरकारबीच गुनासो सुन्ने र सम्बोधन गर्ने परिपार्टीको विकास भए सम्बन्ध प्रगाढ हुने लेकम गाउँपालिकाका पूर्वअध्यक्ष परमानन्द जोशीले बताउनुभयो । आफुले सरकार सञ्चालनको क्रममा व्याक्तिगत फोनबाटै जनताका सुझाब, सल्लाह, गुनासा, प्रतिक्रिया सुन्ने गरेको अनुभव सुनाउदै पूर्वअध्यक्ष जोशीले भन्नुभयो, प्रभावकारी रुपमा सञ्चालन गर्न सके टोल फ्रि नम्बरले जनतालाई सुझाब, गुनासा राख्न झनै सहज हुनेछ । जनताले निःशुल्क सुझाब राख्न पाउन भन्ने उद्धेश्यले जिल्लामै पहिलो पटक टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको वडाअध्यक्ष बोहराले बताउनुभयो ।

कतिपय जनप्रतिनिधिले निर्वाचित भएपछि फोन उठाउनै छोडेको जनगुनासो आइरहेको बेला जनताकै गुनासा सुन्न टोल फ्रि नम्बर सञ्चालनमा आएपछि प्रशंसा भइरहेको छ । देशका केही पालिकाहरुले टोल फ्रि नम्बर यसअघि सञ्चालनमा ल्याएको भएपनि वडा तहमा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने लेकम गाउँपालिका वडा नम्बर ५ सम्भवतहः देशमै पहिलो वडा रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो ।