आज गौरा पर्वको मुख्य दिन अठ्यावली, दार्चुला सहित सुदूरपश्चिममा धुमधाम संग मनाइँदै

२ बर्ष अघि

२0७९ भाद्र १८ शनिबार

आज गौरा पर्वको मुख्य दिन अठ्यावली, दार्चुला सहित सुदूरपश्चिममा धुमधाम संग मनाइँदै

दार्चुला । आज गौरा पर्वको मुख्य दिन अठ्यावली अर्थात् दुर्वाष्टमी दार्चुला सहित सुदूरपश्चिममा धुमधामका संग  मनाइदैछ । आजका दिन गौराको पूजाआजा गर्ने गरिन्छ ।

हिजो अमुक्ताभरण सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले चढाएको दुबधागो आज ग्रहण गर्ने चलन रहेको संस्कृतिका जानकार एवं पण्डित मोहन देव विष्टले  बताए ।

हिजो गौरा घरमा लगिएको गौरालाई खेल खेल्दै आज पूजा गरी बिरुडा सिरमा चढाउने प्रचलन समेत रहेको उनले बताए । महिलाहरु व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजापाठ गर्ने चलन समेत रहेको  उनले बताए । यसैगरि दिनमा महिलाहरु हल्लोरी वाला कल्लोरी भन्दै शिव र पार्वतिको प्रतिमुर्ति खेलाउने गर्दछन् । गौराखालामा विधिपुर्वक फल फट्काएपछि आजैदेखी नयाँ फलहरु चाख्ने चलन छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ ।

 भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट शुरु हुने यो पर्व यो बर्ष भाद्र शुक्ल पक्षमा परेको छ । गौरा पर्वको शुरुवात बिरुडा पञ्चमीबाट हुन्छ । दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाउने  गर्दछन्  । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको छ ।

यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गर्दछन् । यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाउँछन्  ।  पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ ।

सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही  आएको छ ।पञ्चमीका दिन सुरु हुने गौरा पर्व विसर्जन भने हरेक ठाउँको आआफ्नै चलन अनुसार गर्ने गरिन्छ ।