शैल्यशिखर नगरपालिकाले बजारको फोहोर उठाउन थाल्यो

२ बर्ष अघि

२0७९ भाद्र १५ बुधबार

शैल्यशिखर नगरपालिकाले बजारको फोहोर उठाउन थाल्यो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले फोहोर व्यवस्थापन थालेको छ । नगरपालिकाको केन्द्र गोकुलेश्वर बजारमा मुख्य समस्याका रुपमा रहेको फोहोर व्यवस्थापन गर्न शैल्यशिखर नगरपालिकाले अभियान थालेको जनाएको छ । फोहोर व्यवस्थापन नहुदा बजार क्षेत्रमा दुर्गन्ध फैलिएर दैनिक जनजीवन समेत प्रभावित भइरहेको गुनासो बढेको बेला नगरपालिकाले फोहोर व्यवस्थापन गर्न थालेको हो ।

बुधबार आज देखि सफाइ कर्मचारीहरुले गोकुलेश्वर बजारको फोहोर उठाउन थालेको नगरप्रमुखको सचिवालयका सदस्य राजेशसिंह बिष्टले जानकारी दिनुभयो । बजार क्षेत्रको फोहोर उठेपछि स्थानीयले धन्यबाद ज्ञापन गरेका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ ठूलसैनमा डम्पिङ साइट बनाउने गरी तयारी अगाडी बढाइएको छ, बिष्टले भन्नुभयो, पूर्ववर्ती सरकारको पालादेखी थुप्रिएको गोकुलेश्वर बजारको फोहोर बर्तमान सरकारको अगुवाइमा उठ्न थालेको छ । सफा र सुन्दर नगर निर्माणका लागि स्मार्ट एक्सनमा नगर प्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायत लगायत नगरकार्यपालिकाले फोहोर व्यवस्थापनमा ध्यान दिएको उहाँको भनाई छ ।


शैल्यशिखर नगरपालिका स्थापना भएको छ बर्ष बितेपनि अहिलेसम्म डम्पिङ साइटको व्यवस्थापन हुन सकेको छैन् । दोस्रो स्थानीय तह निर्वाचनपछि विजय धामी नेतृत्वमा बनेको स्थानीय सरकारले फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण कार्यलाई प्राथमिकतामा राखेको बिष्टले बताउनुभयो । अहिले अस्थाइ रुपमा फोहोर व्यवस्थापन गर्ने गरी बजार क्षेत्रबाट फोहोर संकलन गर्न थालिएको छ । छिटै डम्पिङ साइट तयार गरेर फोहोरको दिर्घकालिन व्यवस्थापन र समाधान खोज्ने लक्ष्यका साथ काम भइरहेको नगरप्रमुख धामीले बताउनुभयो ।

फोहोरमैलाको दिर्घकालिन समाधान खोज्न स्थानीयले अनुरोध गर्दै आएका छन् ।