पाकिस्तानमा राष्ट्रिय संकट घोषणा

२ बर्ष अघि

२0७९ भाद्र १२ आईतवार

पाकिस्तानमा राष्ट्रिय संकट घोषणा

एजेन्सी ।  बाढीपहिरोले ३४३ बालबालिकासहित कम्तीमा ९३७ जनाको मृत्यु, ४ लाख घर क्षतिग्रस्त, ३ करोडभन्दा बढी मानिस प्रत्यक्ष प्रभावित
कराँची — लगातारको वर्षापछि आएको बाढीपहिरोले ठूलो मानवीय र भौतिक क्षति निम्त्याएपछि पाकिस्तानमा राष्ट्रिय संकट घोषणा गरिएको छ । बाढीपहिरोमा परी हालसम्म कम्तीमा ९ सय ३७ जनाको मृत्यु भइसकेको छ, जसमा ३ सय ४३ जना बालबालिका मात्रै छन् । सयौं घाइते र हराइरहेका छन् ।

विभिन्न राज्यमा गरी हालसम्म ३ करोडभन्दा बढी मानिसप्रत्यक्ष प्रभावित भएको भन्दै पाकिस्तानले बिहीबार राष्ट्रिय संकट घोषणा गरेको हो ।

बाढीपहिरोले हालसम्म ४ लाख घरहरू ध्वस्त भएका छन् । संयुक्त राष्ट्र संघीय विपद् राहत एजेन्सी ओसीएचएले पनि बिहीबारसम्म १ लाख ८४ हजार परिवार घरबारविहीन भएको र उनीहरूलाई तत्काल आवासको व्यवस्था गर्नुपर्ने जनाएको छ । बाढीपहिरोबाट सबैभन्दा बढी सिन्ध राज्य प्रभावित बनेको छ ।

गत जुन १४ यता भएका बाढीपहिरोजन्य घटनामा परी सिन्धमा मात्रै ३०६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले जनाएको छ । प्राधिकरणका अनुसार बलुचिस्तान राज्यमा २३४ जना, खैबरमा १८५ जना र पन्जावमा १६५ जनाको मृत्यु भएको छ । यसैगरी, जम्मु कश्मीरमा ३७ जनाको मृत्यु हुँदा राजधानी इस्लामाबादमा १ जनाको ज्यान गएको रिपोर्ट छ ।