भारतले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध छिट्टै हट्छ ः नबिन राजदूत श्रीवास्तव

२ बर्ष अघि

२0७९ भाद्र १२ आईतवार

भारतले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध छिट्टै हट्छ ः नबिन राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नबिन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी गरिरहेको बताउनुभएको छ ।

शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको समेत बताउनुभयो । उहाँले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको बताउनुभयो ।

राजदूत श्रीवास्तवले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिएको तर चाँडै नै निर्माण हुने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको दावी गर्नुभयो । उहाँले पुल निर्माण कार्य चाँडै सकिने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ । यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ । हामी चाहन्छौं कि यसलाई अझै बढाउनुपर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ ।’