सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल, शीर्ष नेताहरुको बैठक निष्कर्ष विहिन

२ बर्ष अघि

२0७९ भाद्र ९ बिहीबार

सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल, शीर्ष नेताहरुको बैठक निष्कर्ष विहिन

काठमाडौँ ।  आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल हुने देखिएको छ । गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि आज शीर्ष नेताहरु बैठक बसेको थियो । तर शीर्ष नेताहरुको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको एक नेताले जानकारी दिए । अब कार्यदलको बैठकमै थप पहल गर्ने र शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । शीर्ष नेताको बैठकले अघिल्लो संसदीय चुनाव र गएको वैशाखमा भएको पालिका चुनावको जिल्लागत प्रतिवेदन पेस गर्न पनि कार्यदललाई निर्देशन दिएको छ ।

एक नेताका अनुसार बैठकमा नेपाली कांग्रेसले १ सय सिटमा दाबी गरेको छ भने माओवादी केन्द्रले ६० सिटमा दाबी गरेको छ । आजको बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले १ सय सिट कांग्रेसले पाउनुपर्ने दाबी गरेका हुन् । तर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ८० देखि ९० सिटसम्म दाबी गर्ने हिसाबले कुरा गरेको स्रोतले जनाएको छ ।

माओवादीले पहिले जितेको ठाउँमा स्वतह सम्बन्धित दलले नै टिकट पाउने र माओवादीले जितेको ठाउँमा भागबण्डा गर्नुपर्ने मागलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ ।