चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना

२ बर्ष अघि

२0७९ भाद्र ८ बुधबार

चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना

काठमाडौ । भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना भएको छ । करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्, साना र मझौला व्यापारी पेसाबाटै पलायन भएका छन् भने सीमित ठूला व्यापारीले समुद्री मार्गबाट भारत हुँदै सामान ल्याउँदा उपभोक्ता मूल्य अकासिएको छ ।

भूकम्पपछि तातोपानी नाका त चार वर्ष पूर्ण रूपमा ठप्प थियो । आयात कहिलेकाहीं खोलिए पनि निर्यातमा कडाइ छ । अहिले पनि मानव आवतजावत प्रतिबन्धित छ भने आयात नगण्य छ । नियन्त्रित रूपमा केही समयअघि खोलिएका दुवै नाका कोभिडको बहानामा फेरि बन्द गरिएको एक साता बितेको छ ।


नाकामा चीन कति अनुदार छ भने भूकम्पका कारण खासा सडकमा अलपत्र नेपाली व्यवसायीले आफ्ना सामान पाँच महिनासम्म उठाउन नपाउँदा वर्षाको पानीले क्षति पु¥यायो । मितेरी पुलबाट करिब ५ सय मिटर पर चिनियाँ भूभाग पुगेर आफ्ना सामान ल्याउनसमेत दिएन ।
बाढीपहिरो र कोभिड बहानामा प्रायः बन्द हुने नाका खोलेको बेला पनि कति कन्टेनर पठाउने भनेर चिनियाँ अधिकारीले तजबिज प्रयोग गर्दै आएका छन । दिनमा ५–७ कन्टेनर पठाएपछि अचानक सिमानामा गेट लाग्छ । यसरी व्यावसायिक रूपमा खरिद गरेका सामानलाई सुरक्षित रूपमा गन्तव्यमा जान दिन सहयोग गर्नुपर्नेमा चीनको अव्यावसायिक व्यवहारले नेपाली व्यापारी मर्कामा छन । व्यवसायीले करोडौं लगानीमा खरिद गरेको सामान बाटैमा अलपत्र रहेका बेला नाका पटकपटक बन्द गरिन्छ, अहिले पनि बन्द छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल २०७२ चैत ९२०१६ मार्च० मा चीनसँग व्यापार तथा पारवहन सम्झौता भयो । नेपालले चिनियाँ समद्रसम्म पहुँच पाउने भएपछि आयात व्यापारका लागि दक्षिणको एकलौटी वर्चस्व नरहने विश्वास गरिएको थियो । ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितिमा बेइजिङमा भएको सम्झौताले भविष्यमा काजकिस्तान लगायत अन्य मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्दा नेपालले चीनको भूमि प्रयोग गर्न मार्ग प्रशस्त भएको थियो । नेपालले चिनियाँ बन्दरगाहको पनि प्रयोग गर्न पाउने अपेक्षा गरिएको थियो । तर, सम्झौता भएको ७ वर्ष पुग्न लाग्दा पनि व्यापारमा सहजता ल्याउनेभन्दा पूर्ववत् चालु नाकामा पनि नियन्त्रणको शृंखला जारी छ ।

चीनसँग नेपालको करिब १ हजार ४ सय १४ किमि लामो सीमामध्ये तातोपानी र केरुङ मात्रै दोहोरो आवागमन हुने नाका हुन । थप नाका खुलाउन दुई मुलुकबीच पटक–पटक सहमति भए पनि सञ्चालन हुन सकेका छैनन । तातोपानी र रसुवाबाहेक संखुवासभाको किमाथांका, मुस्ताङको कोरोला, हुम्लाको हिल्सा र दार्चुलाको टिंकर व्यापारिक कारोबारका हिसाबले महत्त्वपूर्ण नाका हुन । भौतिक संरचना र सरकारी संयन्त्रको विकास भएकै तातोपानी र रसुवागढी पनि नियमित रूपमा खुलाउन चीनले रुचि देखाएको छैन ।