कांग्रेस नेता गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने, को हुन् प्रदीप गिरी

२ बर्ष अघि

२0७९ भाद्र ५ आईतवार

कांग्रेस नेता गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने, को हुन् प्रदीप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको शनिबार राति निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेको उनको शनिबार राति साढे ९ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ । निधनपछि उनको आज अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन् । 

अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गिय गिरीको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ । त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने छ ।

को हुन् प्रदीप गिरि 

प्रदीप गिरिको जन्म २००४ सालमा सिरहाको बस्तीपुरमा भएको थियो । बुबा मित्रलाल गिरि र पुण्यप्रभाका पुत्र गिरिले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । 

नेपालका सबैजसो शान्तिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी कांग्रेसका संस्थापक बिपी कोइरालाका सहयात्रीसमेत भए । बिपीसँग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले ३ वर्ष जेल जीवन बिताए ।

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनी २०५६ को आम निर्वाचनमा पराजित भए । २०६४ र २०७० को संविधानसभामा समानुपातिक सांसद्को रूपमा संविधान लेख्ने कार्यमा सक्रिय गिरिले ३ असोज २०७२ मा जारी संविधानमा भने हस्ताक्षर गरेनन् । 

त्यसपछि २०७४ मा भएको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ उनी निर्वाचित भए। पटक–पटक सांसद् बनेका गिरिमा सत्ता प्राप्तिको लालशा कहिल्यै देखिएन । 

गिरिका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।