दार्चुला जिप दुर्घटनामा मृत्यु भएका बझाङका पाँचै जनाको सामूहिक दाहसंस्कार गरियो

२ बर्ष अघि

२0७९ भाद्र ३ शुक्रबार

दार्चुला जिप दुर्घटनामा मृत्यु भएका बझाङका पाँचै जनाको सामूहिक दाहसंस्कार गरियो

दार्चुला ।  बुधबार दार्चुला जिप दुर्घटनामा परी मृत्यु भएका बझाङका पाँचै जनाको शुक्रबार सामूहिक अन्त्येष्टी गरिएको छ । बझाङको बुंगल नगरपालिका वडा नं ८ का राइभान बोहरा, चम्फादेवी बोहरा, उजले बोहरा, पुने बोहरा र हिक्मत जागरीको सामूहिक दाहसंस्कार गरिएको बुंगल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष लोकेन्द्रबहादुर जागरीले बताए । 
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ६ उल्लानीमा भएको जिप दुर्घटनामा बझाङका ५ जनाको मृत्यु भएको थियो । उनीहरु शव पोष्टमार्टम पछि बझाङको बुंगल नगरपालिका ८ स्थित सेरा मसानघाटमा सामूहिक अन्त्येष्टी गरिएको हो । ओल्के पर्वको दिन रोजगारी र उपचारका लागि दार्चुला हुदै भारतको धार्चुलाका लागि हिँडेका एकै गाउँका पाच जनाको दुर्घटनामा परेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमग्न बनेको छ ।

दुर्घटनामा परेर मृत्यु भएका राइभान बोहरा र चम्फादेवी बोहरा श्रीमान –श्रीमति हुन् । एकै गाउँका ५ जनाको मृत्यु भएपछि अहिले गाउँमा रुवाबासी चलेको वडा अध्यक्ष जागरीले बताए । उनले भने ‘यस्तो घटना कहिले भएको थिएन् । गाउँमा रुवाबासी चलेको छ । मृतकका परिवारलाई राहत दिने बिषयमा यही भदौ ८ गते नगर कार्यपालिकाको बैठक बस्ने र त्यो बैठकबाट केही निर्णय हुने वडा अध्यक्ष जागरीले बताए ।