भाद्र ६ गते देखि दार्चुलामा बालबालिकाहरुलाई फाइजर खोप दिइने

२ बर्ष अघि

२0७९ भाद्र ३ शुक्रबार

भाद्र ६ गते देखि दार्चुलामा बालबालिकाहरुलाई फाइजर खोप दिइने

दार्चुला ।  भाद्र ६ गते देखि दार्चुलमा बालबालिकाहरुलाई फाइजर बाइ इन्टिक खोप दिइने भएको छ । अधिकांश बालबालिकाहरु यो समयमा विद्यालय हुने भएकाले विद्यालयहरुमा नै खोप केन्द्र सञ्चालन गरि खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।विहिबार खोप समन्वय समितिको बैठकले भाद्र ६ गते देखि १० गते सम्म खोप अभियान संञ्चालन गर्ने निर्णय गरेको हो । 

खोप अभियान जिल्लाभरी ४ सय २९ वटा खोप केन्द्रबाट खोप अभियान सुरु हुने बताइएको छ । भाद्र ६ गते देखि सुरु हुने फाइजर खोप अभियान अन्तरगत विद्यालयमा मै पुगेर खोप लगाउने तयारी भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार भदौ ६ गतेदेखि १० गते सम्म शुरु हुने बालबालिका लक्षित खोप अभियानमा सहभागी हुन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत  गरेको छ ।

५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई खोप दिने तयारी भएकाले आफ्ना बालबालिकाहरुलाई नजिकका खोप केन्द्रमा लगेर खोप लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र भट्टले बताए । कोरोना भाइरसको जोखिम कायमै रहेको र यसबाट जोगाउन खोप प्रभावकारी माध्यम भएकाले बालबालिकाहरुलाई निर्धक्कसंग खोप लगाउन आग्रह गरिएको उहाँले बताए ।

जिल्लामा ५ बर्षदेखि ११ बर्ष सम्मका २० हजार ३९२ जना बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य सहित खोप अभियान सुरु हुन लागेको छ । खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइसकिएको छ । ४ सय २९ ओटा खोप केन्द्र मार्फत खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानका लागि २सय जना खोप कार्यकर्ता र ८ सय स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

 
कोरोना विरुद्धको खोप लगाएकाहरुमा कोरोना संक्रमण भएपनि जटीलता नदेखिएकाले कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिँदै आएका छन् ।बालबालिकाहरुका लागि फाइजर खोप सुरक्षित भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गरिएको छ । यो खोप लगाएको २१ दिन पछि दोस्रो मात्रा खोप लगाइने बताइएको छ । हाल सम्म दार्चुला जिल्लामा पुर्ण खोप लगाउनेको संख्या ९७ हजार पुगेको छ ।जिल्लामा ९५ हजार जनाले बुष्टरखोप लगाएका छन । फाइजर बाइ इन्टिक खोप दार्चुलाका लागि ४० हजार डोज खोप आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा १७ हजार ८९३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ ।