राशन घोटालाको आरोप लागेका दार्चुलाका एसपी विष्ट जिम्मेवारीबाट हटाइए

२ बर्ष अघि

२0७९ भाद्र ३ शुक्रबार

राशन घोटालाको आरोप लागेका दार्चुलाका एसपी विष्ट जिम्मेवारीबाट हटाइए

दार्चुला । सशस्त्र प्रहरी बल दार्चुलाका एसपी त्रिभुवन विष्टलाई जिम्मेवारीबाट हटाइएको छ। दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।


आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मेवारी खोसिएको स्रोतले जनाएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको छ। 


कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ। तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर अनियमितता गरेको आरोप छ।


राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले एसपी विष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानेर जिम्मेवारीबाट हटाइएको हो। राशनमा अनियमितताबारे पहिलोपटक दिनेशखबरले समाचार प्रकाशित गरेको थियो। 


यसअघि एसपी विष्टले राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो। हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन्। साहुमाथि संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप लागेको छ। राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचनासमेत चुहाएको आरोप उनीमाथि लागेको हो। तर, हवल्दारले उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराएका थिए। 


हवल्दारको पारिवारिक स्रोतका अनुसार उनलाई फसाउने नियतले गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको अभियोग लगाइएको हो। साहुलाई फसाउन गणका केही अधिकारी र स्थानीय पत्रकार भनिएकाको समेत मिलेमतो रहेको बताइएको छ। 

साहुमाथि उक्त आरोप लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले साहुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। साहुमाथि लागेको अभियोगका सन्दर्भमा अन्तिम फैसला हुन बाँकी छ। दिनेशखबर बाट