सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

२ बर्ष अघि

२0७९ भाद्र १ बुधबार

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

दार्चुला ।  दार्चुला सहित सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै छ । पहाडी समुदायका मानिसहरुले हरेक बर्षको भाद्र संक्रान्तिलाई ओल्के पर्वका रुपमा मनाउने गरेका छन् । ओल्के पर्वलाई जेठो पर्वका रुपमा मनाउने गरिएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । ओल्के पर्वपछि अन्य चाडपर्व शुरु हुने भएकाले यसलाई जेठो पर्वका रुपमा मनाउन गरिएको उनले बताए ।

ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यस पर्वको विशेषता रही आएको छ । यस्तै आफन्त, इष्टमित्रहरुलाई उपहार स्वरुप भेटघाट गर्ने चलन समेत रही आएको छ । तर पछिल्लो समयमा भेटघाट गर्ने चलनमा भने कमी आएको छ । 

यसका साथै बिहानै नुवाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।

वर्षा पछिको संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रही आएको स्थानीय संस्कृतिका जानकार पण्डित देवदत्त भट्टले बताए । 

यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पकवान आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रही आएको छ । धेरै जसो ठाउँंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने चलन रही आएको छ । 

विवाहित छोरी बहिनीहरु माइती घरमा आउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार भट्टले बताए । उनले भने ‘ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइतीमा आउने चलन छ । मिठोमसिनो खाने चलन रही आएको छ ।’

कतिपय ठाउँमा आजका दिनलाई ‘गब्या त्यार’भन्ने चलन रही आएको छ । आजैका दिनदेखि पिँडालुको गाबाको तरकारी खाने चलन रही आएको छ । पौष्टिकता हिसाबले गाबा निकै महत्वपूर्ण रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

आजै ‘बुढी’ हाल्ने पर्व 

ओल्के संक्रान्तिका दिन गाउ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हाले भन्ने गरिएको छ । भाद्र संक्रान्तिका दिन हालेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ । 

बत्ती बाल्ने महिना समापन

सुदूरपश्चिममा साउन १ गतेबाट सुरु भएको बत्ती बाल्ने महिना पनि समापन भएको छ । श्रावण महिना सकिएर भाद्र महिना लागेसंगै बत्ती बाल्ने महिना पनि समापन भएको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । श्रावण महिनालाई धार्मिक महिनाको रुपमा मान्ने चलन रही आएको छ । यो महिना देवीदेवताका मन्दिरहरुमा बत्ती बाल्ने, रातभर जाग्राम रहने लगायतका चलन रही आएका छन् । 

साउने संक्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पूजापाठ गर्ने चलन रही आएको छ । 
श्रावणको महिना यो क्षेत्रका प्रसिद्ध धार्मिक शक्तिपीठहरुको दर्शन गर्ने चलन रही आएको छ । 

साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना पनि भन्ने गरिएको पण्डित विष्णुदत्त भट्टले बताए ।  

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवता जागृत हुने र कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म ब्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रही आएको छ ।