पश्चिम सेती बन्ने आसामा प्रभावित क्षेत्रका नागरिक

२ बर्ष अघि

२0७९ श्रावण २९ आईतवार

पश्चिम सेती बन्ने आसामा प्रभावित क्षेत्रका नागरिक

बैतडी । सरकारले पश्चिम सेती परियोजनाको अध्ययन अनुमति पत्र भारतीय कम्पनीलाई दिने निर्णय गरेसंगै यो क्षेत्रका नागरिकमा पश्चिम सेती बन्ने आसा पलाएको छ । झण्डै ४० बर्षदेखि निर्माणको चर्चामा रहेको पश्चिम सेतीले फेरी एक पटक आसा जगाएको बैतडीको सिगासका स्थानीय पदम साउँदले बताए । 

परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि बैतडी, डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो । पश्चिम सेती निर्माण हुने चर्चाले स्थानीयहरुमा खुसी छाएको साउँदले बताए । उनले भने ‘हामीले लामो समयदेखि पश्चिम सेतीका बारेमा सुन्दै आएका छौं । तर काम अघि बढ्न सकेको छैन् । अब काम अघि बढ्ला कि भन्ने आसा पलाएको छ ।’

लगानी बोर्डको यही साउन २३ गते बसेको बैठकले सो आयोजना अगाडि बढाउन भारतको सरकारी कम्पनी एनएचपीसीलाई जिम्मेवारी दिएको छ । कूल सात सय ५० मेगावाट क्षमताको सो योजना अगाडि बढेमा यो क्षेत्रको विकासका लागि कोसेढुंगा साबित हुने ढुंगाडका स्थानीय राजेन्द्र चन्दले बताए । 

बोर्डमा भारतीय कम्पनीले वित्तीय तथा प्राविधिक व्यवस्थापनका अतिरिक्त बजार खोज्नेसम्मको प्रस्ताव गरेको छ । जानकारका अनुसार भारतको सरकारी स्वामित्वको सो कम्पनीसँग प्राविधिक समूह, वित्तीय व्यवस्थापन गर्नसक्ने हैसियत छ । सोही कम्पनीले उत्पादित बिजुली भारतीय बजारमा बिक्री गर्ने प्रस्तावसमेत गरेको बोर्डको भनाइ छ ।

पश्चिम सेती आयोजना अघि बढेमा यो क्षेत्रमा विकासको ढोका खुल्ने स्थानीयहरुको विश्वास छ । भारतीय कम्पनीले निर्माणको काम अघि बढाएमा पश्चिम सेती बन्न सक्ने यहाँका नागरिकहरुले बताएका छन् । 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पहिलोपटक विसं २०४२ मा बैतडीको ढुङ्गाड र डोटीको तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका बेला उनले सेतीबाट बिजुली निकालिने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए । ढुङ्गाडलगायतका क्षेत्र डुबानमा पर्ने भएकाले त्यस क्षेत्रका जनतालाई अन्यत्र सारिने भएकाले विकासका काममा थप खर्च नहुने उनले बताएका थिए ।

तर पूर्वप्रधानमन्त्री चन्दले झण्डै ४० बर्ष अघि जगाएको त्यो आसा अझै पूरा हुन सकेको छैन् । आयोजना निर्माण कार्यलाई अब सरकारले प्राथमिकतामा राख्नुपर्ने स्थानीय पदम खडायतले बताए ।