प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारद्वारा सङ्घीय सरकारविरुद्ध आन्दोलनको घोषणा

२ बर्ष अघि

२0७९ श्रावण २८ शनिबार

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेश सरकारद्वारा सङ्घीय सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाण्डौ । प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै पहिलो चरणको आन्दोलनको घोषणा गर्नुभएको हो ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिने मन्त्री साहले बताउनुभयो । भोलिदेखि एक हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि १ बजेसम्म धर्नाको कार्यक्रम राखिएको मन्त्री साहले जानकारी दिनुभयो ।

धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने पनि उहाँले बताउनुभयो । एक हप्तासम्म पनि सङ्घीय सरकारले माग पूरा नगरेमा दोस्रो चरणमा कडा आन्दोलन गर्ने मन्त्री साहको चेतावनी छ । उहाँले तत्कालै प्रहरी समायोजनको काम थालेर चुनाव अघि नै प्रहरीलाई प्रदेश मातहत ल्याउनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन २०७५ सालमै पारित गरिसकेको र सङ्घीय सरकारले पनि प्रहरी समायोजन गर्ने ऐन पारित गरिसकेकोले अब रोक्नुपर्ने कुनै पनि कारण नभएको मधेस सरकारको भनाइ छ  ।  प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको भन्दै प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउनुपर्ने मधेस प्रदेश सरकारको माग छ ।