नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालन

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालन

काठमाडौ । नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् । छिमेकी मुलुक चीनसँगका दुई नाकाबाट दुई वर्ष नौ महिनादेखि आयात मात्रै भइरहेको छ, निर्यात भने हुन सकेको छैन । चीनले कोभिडको कारण देखाउँदै भन्सार नाकाहरू एकतर्फी रूपमा मात्रै सञ्चालन गर्दै आएको छ । पटक–पटकको वार्ता तथा छलफलमा नाका दुईतर्फी र पूर्ण रूपमा सञ्चालन गर्ने समझदारी हुने गरे पनि कार्यान्वयन भएको छैन ।

भन्सार विभागका अनुसार तातोपानी नाकाबाट कात्तिक ०७६ देखि र रसुवा नाकाबाट माघ ०७६ देखि निर्यात भएको छैन । सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ देखिएदेखि नै उत्तरी नाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको हो । त्यसयता चिनियाँ नाका हुँदै हुने आयात आंशिक रूपमा भए पनि निर्यात भने ठप्प नै छ । चीनले कोभिड–१९ को जोखिम देखाउँदै नेपाली सीमाबाट हुने निर्यात रोकेको हो भने आयातमा पनि सहजीकरण गरेको छैन ।

आर्थिक वर्ष ०७८र७९ मा तातोपानी नाका हुँदै नेपालमा १४ अर्ब दुई करोड रुपैयाँबराबरका वस्तु आयात भएका छन् । त्यस्तै, रसुवा नाका हुँदै २६ अर्ब ६२ करोड रुपैयाँबराबरका वस्तु भित्रिएको भन्सार विभागको तथ्यांक छ । तर, उक्त नाकाबाट निर्यात हुन सकेको देखिँदैन ।

चिनियाँ परराष्ट्रमन्त्री भ्रमणको चार महिनामा पनि नाका खुलेन
गत चैत महिनामा तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले उत्तरतर्फका दुवै नाकाबाट आयात–निर्यात सहज रूपमा गर्न सकिने प्रबन्ध छिट्टै मिलाउने आश्वासन दिएका थिए । तर उनले भ्रमण गरेको साढे चार महिनामा पनि नाका सहज हुन सकेको छैन । चैत ११ देखि १३ गतेसम्म भएको चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलरर वाङ यीको भ्रमणपछि नाका दुईतर्फी रूपमा खुल्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले बताए । ‘हामीले औपचारिक र अनौपचारिक दुवै माध्यमबाट नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याउन आग्रह गर्दै आएका छौँ,’ उनले भने, ‘तर, चिनियाँ पक्षबाट कोभिडको जोखिम न्यून भएलगत्तै खोल्छौँ भन्ने आश्वासन दिइरहनुभएको छ ।’

नेपालका परराष्ट्रमन्त्रीको भ्रमणमा नाका खुलाउने एजेन्डा
नेपालका परराष्ट्रमन्त्री डा। नारायण खड्का मंगलबार राति चीन भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्रीको भ्रमणदलमा वाणिज्य सचिव डा। गणेशप्रसाद पाण्डेय पनि सहभागी छन् । भ्रमणको एजेन्डमा नाका दुईतर्फ खुलाउने र व्यापार घाटा न्यूनीकरण गर्ने विषयसमेत रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘अहिले चीनसँगको व्यापार घाटा उच्च छ, त्यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषय हामीले उठाउनेछौँ,’ उनले भने, ‘निर्यातमा लगाइएको नाकाबन्दी खुलाउन हाम्रो विशेष जोड हुनेछ ।’

वाणिज्यका पूर्वसहसचिव रवि सैंजूले कोभिड प्रोटोकलको मापदण्ड बनाउने र त्यसको सफल कार्यान्वयन गर्ने गरी नाका खुलाउन पहल गरिनुपर्ने बताए । ‘नेपालले परराष्ट्रमन्त्रीको भ्रमणमा नाका खोल्ने एजेन्डा राखेर मात्रै हुँदैन, यसअघिका छलफलमा पनि नाका खुलाउने समझदारी त भएकै हो नि,’ उनले भने, ‘चिनियाँ पक्षले कोभिड प्रोटोकललाई गम्भीर रूपमा फलो गर्ने भएकाले हामीले एउटा प्रोटोकल बनाउने र त्यसको परिपालना गरेर नाका खुलाउन नेपालले जोड दिनुपर्छ ।’

चीनतर्फको व्यापार घाटा ६७ प्रतिशतले बढ्यो
छिमेकी मुलुक चीनसँगको नेपालको व्यापार घाटा पछिल्लो पाँच वर्षमा ६७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७४र७५ मा चीनसँगको नेपालको व्यापार घाटा एक खर्ब ५७ अर्ब रहेको थियो । आव ०७८र७९ मा आइपुग्दा व्यापार घाटा एक खर्ब ६ अर्बले बढेर दुई खर्ब ६३ अर्ब पुगेको छ । पछिल्लो पाँच वर्षयता आयात ६५।५१ प्रतिशतले बढ्दा निर्यात भने ६७ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ । आव ०७४र७५ मा नेपालले चीनबाट एक खर्ब ५९ अर्बको वस्तु आयात गरेको थियो । आव ०७८र७९ मा आइपुग्दा आयात बढेर दुई खर्ब ६४ पुगेको छ । त्यस्तै, आव ०७४र७५ मा नेपालले चीनमा दुई अर्ब ४३ करोडको वस्तु निर्यात गरेको थियो । आव ०७८र७९ मा आइपुग्दा निर्यात घटेर ८० करोडमा सीमित भएको छ ।

आर्थिक वर्ष ०७८र७९ मा नेपालले चीनसँगको कुल दुई खर्ब ६५ अर्ब ५८ करोड रुपैयाँबराबरको व्यापार गरेको थियो । जसमा नेपालले दुई खर्ब ६३ अर्ब नोक्सान व्यहोर्नुपरेको छ । यस आवमा नेपालले दुई खर्ब ६४ अर्ब आयात गर्दा ८० करोडको मात्रै निर्यात गर्न सकेको छ । चीनतर्फको व्यापार घाटा उच्चदरमा बढिरहेकोतर्फ नेपाल अलि बढी गम्भीर हुनुपर्ने पूर्वसहचिव सैंजू बताउँछन् । व्यापार घाटा न्यूनीकरणका लागि नेपालले ठोस प्रस्ताव लगेर चीनसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ