अस्थायी काठेपुलका लागि भारतको सहमति माग गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

अस्थायी काठेपुलका लागि भारतको सहमति माग गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ राप्ला, दुम्लिङमा अस्थायी काठेपुल निर्माणका लागि भारत सरकारसँग सहमति मागका लागि अनुरोध गरिएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ को साउन २२ गतेको सिफारिशबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत गोविन्द केसीद्धारा हस्ताक्षरित पत्रमा भारतको सहमति माग गरिदिने व्यवस्थाका लागि परराष्ट मन्त्रालयलाई अनुरोध गरिएको छ । व्याँस गाउँपालिका–२ का स्थानीयलाई झोलुंगे पुल नहुँदा आवतजावतमा समस्या हुनुका साथै अझैपनि तुइनकै सहारामा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।

ठाउँठाउँमा सीमा पुल बनाउन नसकिने तथा अनुमति नहुने हुदाँ आवतजावतको सहजताका लागि भौगोलिक अवस्था हेरी काठेपुल निर्माण गरिदिन वडा कार्यालयले सरकारलाई सिफारिश गरेको वडा नम्बर २ का अध्यक्ष धिरन सिंह बुढाथोकीले बताए । गत आर्थिक वर्षमा मात्रै वडा नम्बर २ स्थितका तुइनबाट खसेर दुई जना बेपत्ता भएका थिए ।