व्यापारी म्याद नाघेका समाग्री बेच्ने, उपभोक्ता नहेरी खाने, कमजोरी कसको ?

२ बर्ष अघि

२0७९ श्रावण २५ बुधबार

व्यापारी म्याद नाघेका समाग्री बेच्ने, उपभोक्ता नहेरी खाने, कमजोरी कसको ?

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बुधबार महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ खलंगा बजारका केही पशलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्य म्याद सकिएका थुप्रै किसिमका खाद्यबस्तु फेला परे । पीठो, पानीपुरी, मसला, विस्कुट, कुरकुरे, मिट मसला, बेसन, भुजा, चिउरा, बदाम जुस, विभिन्न पेय पदार्थ, नम्किन, मेहेन्दी, नुहाउने सावुन, धनिया पाउडर, करेन्ट चाउचाउ, दाल, दुध, लड्डु, बेसन पाउडर आदी बरामद गरि जलाएर नष्ट गरियो । 


यसरी पशलै पिच्छे म्याद नाघेका अखाद्यबस्तु फेला परेपछि पहिलो चरणमा त्यस्ता सामाग्री बरामद गरी नष्ट गरीएको विक्रेताहरुलाई सम्झाई बुझाई गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताउनु भयो । 
उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ अनुसार जानी जानी कमसल समान विक्री गर्ने, सिमित सप्लाई गर्ने, स्वास्थ्यमा प्रतिकुल असर पर्ने सामान विक्रि गरेमा ३ देखि १२ महिना कैद तथा एक देखि तीन लाख रुपैँया जरिवान वा दुबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । 


सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहेको बजार अनुगमन समितिले जुनसुकै बेला पनि बजार अनुगमन गरी उपभोक्ता संरक्षणमा सरलता गर्नु पर्ने हुन्छ । तर दार्चुला जिल्लामा हरेक पटकको बजार अनुगमनमा म्याद नाघेका सामान फेला पर्ने, मूल्य सुची नराख्ने, व्यापारीहरु प्रसस्त मात्रामा छन् भने उपभोक्ताहरुमा पनि आफ्नो अधिकारको बारेमा जानकारी नरहेको पाईएको छ ।


जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदको नेतृत्वमा घरेलु कार्यालय, महाकाली नगरपालिका र प्रहरीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालको परिपत्र अनुसार प्रत्येक महिनाको अन्तमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।