परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् नेकपा एकीकृत समाजवादीका खनाल

२ बर्ष अघि

२0७९ श्रावण २५ बुधबार

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् नेकपा एकीकृत समाजवादीका खनाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमणमा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुनेसहमतिका बारेमा जोड दिनुपर्ने बताएका छन् ।

‘परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धिहरु हासिल हुनेछ । बीआरआईको बारेमा सम्झौता भएको छ, केही पनि कार्यान्वयन भएको छैन । सीमाको बारेमा पनि समस्या आउन खोज्छ, त्यसको समाधानको दीर्घकालीन आधार तयार पार्नुपर्छ । सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्नेकुरा नेपाली जनताको चाहना हो’, प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका खनालले प्रधानमन्त्रीसँगको भेटपछि भने ।

उनले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताईवान, तिब्बत चीनकै भएको दाबी गर्दै उनले यी क्षेत्रमा जुनकुनै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताए । ‘नेपाल एक चीन नीति र नेपालको भूमि कुनैपनि मित्रराष्ट्रबिरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौँ । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ,’ खनालले भने ।

गठबन्धनमा जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने

खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । गठबन्धनमा अहिले दलहरु थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए ।

सम्मानित नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ ।’