पश्चिम पहाडका जिल्लाबाट भारततिर काम गर्न जाने संख्या वृद्धि

२ बर्ष अघि

२0७९ श्रावण २५ बुधबार

पश्चिम पहाडका जिल्लाबाट भारततिर काम गर्न जाने संख्या वृद्धि

काठमाण्डौ,। –बारेकोट गाउँपालिका–५ नायकबाडा, जाजरकोटका ३१ वर्षीय प्रदेश सिंह कामको खोजीमा भारत गएका छन् । दसैँ, तिहार खर्च जुटाउन पनि बिदेसिनुको विकल्प नरहेको उनले बताए । नेपालगन्ज हुँदै भारत हिँडेका उनले भने, ‘परदेश गएर अर्काको भारी बोक्ने इच्छा त कसलाई पो हुन्छ र १ छोराछोरीको रहर पूरा गर्न र दसैँ, तिहारमा एक छाक मिठो, मसिनो खानका लागि अर्कोे विकल्प छैन ।’

उनले भारतको हिमाञ्चल प्रदेशको सिम्ला हिँडेको बताए । काला पहाड अर्थात् सिम्लामा अहिले स्याउ टिप्ने सिजन सुरु भएको छ । उनले यसअघि पनि सिम्ला गएर स्याउ टिप्ने काम गरेका थिए । अघिल्लोपटकजस्तै उनी यसपालि पनि झन्डै २० जना युवाको समूह बनाएर सिम्ला जाँदै छन् । ‘स्याउ टिप्ने सिजन भयो भनेर आफन्त र साथीभाइले खबर गरेपछि साथीभाइ मिलेर सिम्ला जान लागेका छौँ,’ उनले भने ।


३४ वर्षीय प्रेम सिंह पनि उनीसँगै भारतको सिम्ला हिँडेका छन् । उनले स्याउको सिजन सकिएपछि घर फर्किने बताए । ‘स्याउको सिजन पनि सकिन्छ । दसैँ, तिहार पनि आउँछ । त्यही वेला घर फर्किनुपर्ला,’ प्रेमले भने ।

हिजोआज नेपालगन्ज नाकामा आउजाउ गर्नेको भिड बढेको छ । गंगादेवी गाउँपालिका–४ पाखापानी रोल्पाका धनबहादुर डाँगीले दैनिक पाँच सय भारतीय रुपैयाँ ज्याला पाउने आशामा साथीभाइसँगै सिम्ला हिँडेको प्रतिक्रिया दिए । स्याउको सिजन सकिएपछि स्वदेश फर्किने उनले बताए ।