सत्तागठबन्धनका दलहरुबीचको चुनावी तालमेल संविधान विपरीत छ : एमाले नेता रावल

२ बर्ष अघि

२0७९ श्रावण २0 शुक्रबार

सत्तागठबन्धनका दलहरुबीचको चुनावी तालमेल संविधान विपरीत छ : एमाले नेता  रावल

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा.भीम रावलले विपरित सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएको बताए। उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताएका छन्।

उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताएका छन् ।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए। आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ-आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाई छ ।

उनले नेकपा (एमाले) को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारेका छन् ।