प्रचण्डविरुद्ध चुनावमा उठ्ने नेता साहको घोषणा

२ बर्ष अघि

२0७९ श्रावण २0 शुक्रबार

प्रचण्डविरुद्ध चुनावमा उठ्ने नेता साहको घोषणा

 काठमाडौ । जनमत पार्टीका नेता बीपी साहले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध चुनावमा उठ्ने घोषणा गरेका छन् ।

नेता साहले पाँच दलीय (नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा) गठबन्धनको तर्फबाट धनुषा क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारी थालेका प्रचण्ड विरुद्ध आफूले चुनाव लड्ने घोषणा गरेका हुन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा एमालेसँग गठबन्धन गरेर माओवादी नेता मातृका प्रसाद यादव निर्वाचित भएका थिए । अबको निर्वाचनमा आफू जित्ने सम्भावना नदेखेपछि यादवले प्रचण्डलाई उक्त क्षेत्रबाट उठाउने कसरत गर्दै आएका छन् ।

‘प्रचण्डले गठबन्धनको तर्फबाट धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिए उनलाई हराउन म तयार छु,’ ३१ वर्षीय नेता साहले भने, ‘यसअघि सिरहाबाट चुनाव जिताइएका प्रचण्डले मधेशीसँग बारम्बार धोका गर्दै आएका छन् । त्यसकारण अब मधेशबाट प्रचण्डलाई जिताउने काम कुनै पनि मधेशीले गर्दैन ।’

पहाडबाट कुनै पनि मधेशीलाई जिताउन प्रचण्डलाई चूनौती दिदै नेता साहले भने,‘अब मधेशको भूमिबाट शासकहरुलाई जिताउने काम हुँदैन । मधेशीहरु आफ्नो शासन आफैं गर्न तयार छन् । झन् डेटएक्सपाइर नेताहरूलाइ यहाँबाट जिताउने कार्य हुँदैन ।’

हालै सम्पन्न स्थानीय निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले १२ हजारभन्दा बढी मत ल्याएको छ । जसमा कतिपय स्थानमा माओवादीले अन्य दलसँग गठबन्धनसमेत गरेको थियो ।