सुदूरपश्चिममा फेरि बढदै कोरोना संक्रमण

२ बर्ष अघि

२0७९ श्रावण २0 शुक्रबार

सुदूरपश्चिममा फेरि बढदै  कोरोना संक्रमण

धनगढीः सुदूरपश्चिम प्रदेशमा असार ३२ गते कोरोना संक्रमण शून्य थियो। साउन १ गते तीन जनामा कोरोना संक्रमण पुष्टी भएकोमा साउन १९ गते ६१ जनामा संक्रमण देखिएको छ। यस्तै शुक्रबार धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु छ। 

प्रदेश सरकारको तथ्यांक हेर्दा सुदूरपश्चिममा कोरोना संक्रमणको दर फेरि उकालो लागेको देखिएको छ। भारतबाट फर्किएका ८० प्रतिशत नागरिकको मात्र कोरोना परिक्षण हुने गरेको गौरीफन्टा सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी गणेश साउँदले बताए। ‘कोरोनाको संक्रमण दर बढेको देखिएको छ। हामीले परिक्षण गर्दैछौ। आएका जनताको कम्तिमा ८० प्रतिशतको परिक्षण गर्दैछौ। ८० प्रतिशतमा ७ प्रतिशत, १० प्रतिशतमा कोरोनाको संक्रमण देखिने गरेको छ’ उनले भने, ‘एक/दुई जनामा लक्षण देखिने गरेको छ। लक्षण देखिएकाहरुलाई एम्बुलेन्समार्फत सेतीको कोभिड अस्पतालमा पठाउने गरेका छौं।’
प्रदेशमा सीमा नाका हुँदै स्वदेश फर्किएकाहरुको कोरोना परिक्षण हुने गरेको हो। तर त्यसबारेमा स्थानीय तह तथा सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी व्यवस्थापन, सुरक्षा निकाय र विभिन्न संघ संस्थासँग समन्वय गर्न सकेको छैन। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले कोभिड बढेकाले रोक्नका लागि छलफल थालेको बताए। ‘कर्मचारीको म्याद थप नभएको कुरा आएको छ। उहाँहरुले काम गर्दै आउनुभएको छ। हामी म्याद थप गर्छाै,’ हमालले भने।

सीमा क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिकाले स्वास्थ्यकर्मी खटाएको छ। सीमा क्षेत्रमा परीक्षण गर्ने र कोरोना पुष्टि भएकालाई प्रादेशिक अस्पतालका कोभिड अस्पतालमा पठाउने गरिएको छ। 
सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले सीमामा बस्ने कर्मचारीका लागि त्रिपालको समस्या समाधान गर्ने बताए। उनले भने, ‘भातरबाट आउने सबैको तथ्यांक राख्ने गर्छाै। भोलिको समस्या समाधानका लागि हामी तयारीमा छौं। व्यवस्थापनका लागि हामी छलफल गर्छाै।’

भारतबाट फर्किएकाहरुको सीमा क्षेत्रमा एन्टीजेन परिक्षण गर्ने गरिएको छ। कोरोना संक्रमण देखिए कोभिड अस्पताल पठाउन सीमा क्षेत्रमा एम्बुलेन्स पनि राखिएका छन्।