चालकहरुको आन्दोलनका कारण सर्वसाधारण मारमा

५ बर्ष अघि

२0७५ आश्विन ४ बिहीबार

चालकहरुको आन्दोलनका कारण सर्वसाधारण मारमा

दृष्टिीकोण समाचार असोज ४ दार्चुला । सवारी चालकहरुले गरेको बन्दका कारण कैलाली लगायत प्रदेश नम्बर ७ का सर्वसाधारण मारमा परेका छन् ।सरकारसँग विभिन्न माग राख्दै सवारी चालकहरु आन्दोलित भएपछि सर्वसाधारण मारमा परेका हुन् । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै ३ दिनदेखि चालकहरु संघर्षमा उत्रिएका छन् । उनीहरुको आन्दोलनका कारण सर्वसाधारणको जनजीवनसमेत प्रभावित भएको छ ।चालकहरुको अनिश्चितकालीन बन्दका कारण विभिन्न ठाउँमा मानिस अलपत्र परेका छन् । बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधन चल्न नसकेपछि यात्रुलाई गन्तब्यमा पुग्न निकै सास्ती भईरहेको छ ।चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । दशैँका लागि भारतमा रोजगारी गरेर घर फर्किने यात्रु ३ दिनदेखि धनगढी र महेन्द्रनगरमा अलपत्र परेका छन् । आफूहरु ३ दिनदेखि अलपत्र पर्दा समेत सरकारले वास्ता नगरेको डोटीका कर्णबहादुर जेठाराले बताए ।ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पुरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसँग आग्रह गरेको छ । दुर्घटनामा चालकहरुलाई आजीवन काराबास गर्ने र लगायतका निर्णय आफुहरुलाई मान्य नभएकोले आन्दोलनमा गर्नु परेको चालकहरुको भनाइ छ ।ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने ब्यवस्था गरेकोप्रति उनीहरुको असन्तुष्टि छ । दुर्घटना चालकको लापरवाहीले नभई  भईपरि आउने समस्या र प्राविधिक कारण हुने गरेको उनीहरुको भनाइ छ । सरकारले तोकेको ५, १२ र २० बर्षको जेल सजाय खारेज नगरेसम्म आन्दोलन जारी रहने चालकहरु बताउँछन् । नयाँ मुलुकी संहितामा सजायको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिए पनि आन्दोलनको जिम्मेवारी औपचारिक रुपमा कसैले पनि अहिलेसम्म लिएको छैन ।सुदुरपश्चिम यातायात ब्यवसायी संघका अध्यक्ष पदमराज सापकोटाले नेतृत्वविहीन आन्दोलनले कुनै निष्कर्ष नदिने भएकाले बन्दको विकल्प खोज्न चालकहरुलाई आग्रह गरेका छन् ।