मंसिर ४ मा संसदीय निर्वाचन गर्ने घोषणा, कामचलाउ बन्यो देउवा सरकार 

२ बर्ष अघि

२0७९ श्रावण १९ बिहीबार

मंसिर ४ मा संसदीय निर्वाचन गर्ने घोषणा, कामचलाउ बन्यो देउवा सरकार 

काठमाडौ ।सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीले पुष्टि गरेका छन्।
२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय भएको छ’, ती मन्त्रीले भने, ‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ।’ बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो।
यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो। निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो।