भारतीय ऋणमा सुदूरपश्चिममा ४ सय केभी क्षमताको पश्चिम सेती प्रसारण लाइन बन्ने

२ बर्ष अघि

२0७९ श्रावण १९ बिहीबार

भारतीय ऋणमा सुदूरपश्चिममा ४ सय केभी क्षमताको पश्चिम सेती प्रसारण लाइन बन्ने

धनगढीः सुदूरपश्चिम प्रदेशमा ४ सय केभी क्षमताको प्रसारण लाइन बन्ने भएको छ। भारतसँग ऋण लिएर चैनपुर–वनलेख–न्यु अत्तरिया डबल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाइएको छ। प्रसारण लाइन निर्माण गर्न लाइन अफ क्रेडिट (एलओसी) अन्तर्गत भारत सरकारले ऋण दिने बताइएको छ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्र ज्ञवालीका अनुसार उक्त प्रसारण लाइन निर्माणका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको थियो। सो प्रसारण लाइन निर्माणको जिम्मा पाएको राष्ट्रिय कम्पनीले एक महिनाअघि नै अध्ययन सकेर लगानी स्रोत जुटाउन पनि मन्त्रालयलाई प्रस्ताव उनले बताए। १ सय ५० किलोमिटरको उक्त आयोजना लम्की र बरेलीमा जोडिनेछ। 

१२ सय मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनालाई केन्द्रमा जोड्न यो प्रसारण लाइन महत्त्वपूर्ण मानिएको छ। असार ६ गते मात्रै सरकारले सुदूरपश्चिममा रहेको पश्चिमसेती आयोजना भारतीय सरकारी कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) लाई दिने निर्णय गरेको थियो। ७ सय ५० मेगावाटको पश्चिम सेतीको जिम्मा पाएको कम्पनीलाई नै ४ सय ५० को सहायक सेती नदी आयोजनाको जिम्मा दिने बताइएको छ। उक्त संयुक्त पश्चिम सेती आयोजना मात्रै १२ सय मेगावाट क्षमताको छ। त्योसँगै पश्चिम सेती करिडोरमा थप ७ सय मेगावाट आयोजना निर्माण हुँदैछन्।