भारतले मुल्य घटाएर पठाएपनि पेट्रोलियम मुल्य घटेन नेपालमा : सांसद माेदी

२ बर्ष अघि

२0७९ श्रावण १९ बिहीबार

भारतले मुल्य घटाएर पठाएपनि पेट्रोलियम मुल्य घटेन नेपालमा  : सांसद माेदी

काठमाडौं । सत्तारूढ माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले भारतीय आयल कर्पोरेसन (आइओसी)ले दुईपटकसम्म मूल्यसूची घटाएर पठाउँदासमेत मूल्य समायोजन नगरिएकाेमा आपत्ति जनाए। उनले तत्काल मूल्य घटाएर जनतालाई राहत दिन माग गरेका छन्।

‘भारतले मूल्य बढायो भने सरकारले तुरुन्त बढाउँछ। तर, घटेर आउँदा मूल्य नघटाउँदा देशमा महँगी बढेको छ,’ मोदीले भने, ‘यातायातदेखि हरेक क्षेत्रमा महँगी बढेको छ। यसमा सरकारको ध्यानाकर्षण होस्।’ यस्तै उनले विराटनगरमा क्षेत्रीय विमानस्थल निर्माण प्रयोजनाका लागि सरकारले जग्गा अधिग्रहण गरे पनि रकम नदिएको भन्दै आपत्ति जनाए। ‘जनतालाई कि त मुआब्जा दिनुपर्छ कि त जग्गा रोक्का फुकुवा गरिदिनुपर्छ,’ उनले भने।

संसदमा विराटनगरको ढल, सुकुमबासी समस्या समाधान, बाढी प्रभावितको व्यवस्थापन र समग्र विकासबारे कुरा उठाएको, तर सुनुवाइ नभएको उनले बताए। हुलाकी राजमार्गको कटरी खण्ड निर्माणका लागि टेन्डर भए पनि निर्माण व्यवसायीले काम नगरेको भन्दै तत्काल अघि बढाउन उनले आग्रह गरेका छन्। मोरङ–सुनसरी सिँचाइ आयोजनाअन्तर्गत ग्रामथानदेखि बेलबारीको बाहुनीसम्म नहर कालोपत्रे गर्न पनि उनले सरकारसँग माग गरे।

मोदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूमाथि प्रक्राउ पुर्जी जारी गरिएको विषयमा आपत्ति जनाए।