नेकपा एमाले अध्यक्ष ओलीले दुई पटक प्रधानमन्त्रीबाट हट्नुपरेको राज खोले

२ बर्ष अघि

२0७९ श्रावण १८ बुधबार

नेकपा एमाले अध्यक्ष  ओलीले दुई पटक प्रधानमन्त्रीबाट हट्नुपरेको राज खोले

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको निर्णय गर्दा आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताएका छन्। उनले उत्तरी नाका सञ्चालनमा ल्याउँदा र कालापानीसहितको नक्सा समावेश गर्दा आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताए।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले उत्तरी नाका सञ्चालनमा ल्याउँदा प्रधानमन्त्री पदबाट हट्नुपरेको बताए। 

'नाकाबन्दी सुरु भएपछि मैले उत्तरतिरबाट पनि ट्रान्सपोर्टको एग्रिमेन्ट गरेँ। उत्तरतिरको नाका खोलेर अब उपरान्त नाकाबन्दी नहुने स्थिति सिर्जना गरेँ,' उनले भने, 'त्यसपछि मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ, मलाई हटाइन्छ भन्ने कुरा थाहा थियो।'

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग नेपालको भएको बताए। राष्ट्रिय हितको कुरामा अन्यायपूर्ण दाबी गर्न नसकिने र न्यायोचितमात्र दाबी गर्नुपर्ने उनको भनाइ छ।

'सुगौली सन्धिले महाकालीको उद्गमदेखिको भूर्वपट्टिको भूभाग नेपाल हो भनिसकेपछि अरु विषय नै हुन सक्दैन। तर नेपालको भूभाग नक्साबाट हटाइयो। इतिहास खोज्दैजाँदा हटाइएको रहेछ,' उनले भने, 'त्यस भूभागलाई नक्सामा सामिल गरेपछि अब उपद्र हुन्छ, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ भनेर मलाई थाहा थियो। नभन्दै हट्नुपर्‍यो।'

उनले प्रधानमन्त्रीबाट हट्नुपरेकोमा आफूलाई पीर नभएको बताए। तर देश जतातिर जाँदैछ त्यसमा आफू चिन्तित भएको उनले बताए। उनले दलहरु सत्तामुखी भएको, सत्ता प्राप्त गर्न र सत्ता जोगाउनका निम्ति जेसुकै पनि गरिदिने भएर स्वाभिमान र स्वाधीनाताका लागि नेपालीहरुलाई एक हुन आग्रह गरे।