आगामी चुनावमा राप्रपालाइ नजिताए नेपाल श्रीलंका जस्तै हुन्छ : लिङदेन

२ बर्ष अघि

२0७९ श्रावण १८ बुधबार

आगामी चुनावमा राप्रपालाइ नजिताए नेपाल श्रीलंका जस्तै हुन्छ :  लिङदेन

वीरगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाइ श्रीलंकाको जस्तो अवस्थामा पुग्नबाट बचाउन आगामी निर्वाचनमा राप्रपालाइ जिताउन आग्रह गरेका छन्। 

वीरगन्जमा राप्रपा पर्साले आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफूलाइ ठूला भनाउँदा दलहरूले संघीयता र गणतन्त्रका नाममा लुटतन्त्र मच्चाइरहेको र उनीहरूको हातमा शासनसत्ता रही रहे नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने निश्चित रहेको बताएका छन्। 

उनले भने ,'लुटतन्त्र यति धेरै बढेको छ कि हाम्रो देश पनि श्रीलंकाको जस्तै अवस्थामा पुग्न लागेको छ, त्यसैले देशलाई बचाउने हो भने आगामी निर्वाचनमा राप्रपालाइ जिताउनु पर्छ, शासन सत्ता राप्रपाको हातमा आउनै पर्छ, अर्को कुनै विकल्प नै छैन।' मुलुक अहिलेको दूरावस्थामा पुग्नुमा ठूला दलका नेता मात्र नभइ अहिलेको शासन व्यवस्था पनि मूल दोषी रहेको उनको भनाइ छ। 

अध्यक्ष लिङदेनले भने ,'यहि शासन व्यवस्था रहि रहे न त भ्रष्टचारको अन्त्य सम्भव छ न त राजनीतिक स्थितरताको कल्पना गर्न सकिन्छ।' उनले अहिलेको शासन व्यवस्था नै मूल दोषी रहेको भन्दै यसलाइ परिवर्तन नै गर्नुपर्ने आजको आवश्यकता भएको बताए। 

लिङदेनले भने, 'यो देशमा पूर्ण समानुपाति निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित प्रधानमन्नत्री र अभिभावकीय संस्थाको रूपमा राजा रहनुपर्छ, अनि मात्र मुलुक बच्छ र समृद्ध बन्छ।' उनले संघीयता खारेज हुनुपर्ने धारणा पनि राखे। उनले भने, 'स्थानीय र केन्द्र दुई तहको संरचना मात्र भए पुग्छ, नेताहरूले लुटतन्त्र मच्चाएको र मोजमस्तीको माध्यम बनाएको संघीयता अब यो मुलुकले थेग्न सक्दैन, संघीयता खारेज नै गर्नुपर्छ।'